१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

सार्वजनिक जग्गाको संरचना भत्काउन निरन्तर जारी,जिल्ला अदालत काठमाडौँलाई पनि पत्राचार



काठमाडौं ।  महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने ।

नक्सा पास नगरी निर्माण भएका र नक्सा पास अनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए । “संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजात अनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ”, उनले भने ।

सोही क्रममा बुधबार सुनधारास्थित काठमाडौँ मलको आसपासमा निर्माण भएका अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको छ । त्यसैगरी प्रमुख साहको उपस्थितिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

बुधबार नै प्रमुख साहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, “अब विगतमा झै मनोमानी चल्दैन यो कार्य नियमितरुपमा चल्छ ।” यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरे पनि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरु गरिएको छ ।

ठूला ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइएकाले कामपाले यस किसिमको कदम चालेको जनाएको छ । अहिले साङ्केतिक रुपमा रुपमा केही संरचना भत्काइएको हो, यसैगरी अटेरी गर्दै गए आगामी दिनमा यस्ता कयौँ संरचना भत्काउनुपर्ने हुन्छ”, लम्सालले भने ।

अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले हदैसम्मको पहल गर्ने प्रमुख साहको भनाइ छ । त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ११ : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.