काठमाडौँ । बीमाको लोभमा आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा मगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो । एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे सोधपुछ गर्दा सुरुमा चालक चौधरीले चार पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए । तर सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको बेला टिपरमा मात्र कसरी आगजनी भयो भनेर प्रहरीले घटना शंकास्पद देखेपछि दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
‘आगजनी गरिएको ट्रक दुईदिनदेखि मर्मतका लागि ग्यारेजमा राखिएको रहेछ’ उनले भने, ‘बिहानै बन्दकर्ताहरु सडकमा नभएको र अन्य सवारी साधान चलिरहेको देखेपछि घटना शंकास्पद मानेर अनुसन्धान सुरु गरेका थियौं । अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको डीएसपी गौतमले बताए । बन्दको बाहना बनाएर बिमाको दाबी गर्न आफैंले गाडीमा आगो लगाएको खुलेको उनले बताए । डीएसपी गौतमले गाडीका मालिकको पनि खोजी भइरहेको जानकारी दिए ।