१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

हिन्दू र मुगल वास्तुशिल्पको विशिष्ट संयोजनबाट बनेको जानकी मन्दिर



काठमाडौँ । हिन्दू र मुगल वास्तुशिल्पको विशिष्ट संयोजनबाट बनेको जानकी मन्दिर, ७२ वटा मोहक जलकुण्ड, ५२ वटा पौराणिक कुटी, मिथिला कला र व्यञ्जन प्राचीन र आधुनिक रुपरंगको समिश्रण , कुनै बखतको तपोभूमि, एक सप्तरंगी सहर ,स्वागत छ, जनकपुरमा ।

पौराणिक विरासत बोकेर उभिएको यो सहर धार्मिक आस्थाको केन्द्र, पर्यटकीय गन्तव्य र मिथिला संस्कृतिको उद्गम हो । जगजाहेर छ, राजा जनकको नामबाट यो सहरको नामकरण गरिएको हो । पौराणिक कथन छ, जनककी छोरी सीतालाई रामले विवाह गरे । इतिहास भन्छ, यस क्षेत्रको स्थापना १८औं शताब्दीको सुरुआतमा भएको हो ।

शताब्दी पुरानो मन्दिरको रोचक वास्तुशिल्प

जनकपुरको मूख्य आकर्षण भनेको जानकी मन्दिर हो । एक शताब्दी लामो इतिहास बोकेको यो मन्दिर टिकमगढकी राजकुमारी कुमारी वृषभानुले निर्माण गरेको कथन छ । मन्दिर निर्माणका लागि त्यसबखत ९ लाख चाँदीका असर्फी खर्च भएको भनाइ छ । त्यही कारण पनि यस मन्दिरलाई ‘नौलखा मन्दिर’ भन्ने गरिएको रहेछ ।

मन्दिरमा राम जानकीको प्रतिमा छ । यो प्रतिमा सात सय वर्ष पुरानो भएको हो भनिन्छ । धर्मकर्म, जपतप गर्नेहरूका लागि त यो मन्दिर आफैंमा एक पवित्र तीर्थस्थल हो । साथसाथै प्राचीन वास्तुशिल्प अध्ययन गर्नेहरुका लागि यो एक खुला पुस्तक पनि हो ।

जलकुण्डले हराभरा

जनकपुरको अर्को खास आकर्षण भनेको यसको भूगोललाई सुशोभित गर्ने जलकुण्डहरू पनि हो । जलकुण्ड आफैंमा समृद्धिको सूचक हुन् । जनकपुरको गर्भमा ७२ वटा जलकुण्ड भरिभराउ छन् । बिहार कुण्ड, अग्नि कुण्ड, रत्न सागर, गंगा सागर, धनुष सागर, दशरथ तलाउ, जनक सरोवर जस्ता जलकुण्डहरु यहाँ अवस्थित छन् ।

५२ कुटी एवम् मठ मन्दिर

जनकपुर एक पवित्र तपोभूमी पनि हो । परापूर्व कालमा यो ध्यान(साधना गर्ने थलो थियो । त्यसैको अंश हो, यहाँ अवस्थित स(सना कुटी तथा मठ मन्दिरहरु । यहाँ ५२ वटा त यस्ता कुटी तथा मठ मन्दिर नै छन् ।

जनकपुर नेपालको एक यस्तो सहर हो, जहाँको भूगोलमा रेल यात्रा गर्न सकिन्छ । ८५ वर्षअघि नै यस भूगोललाई रेलमार्गले जोडिसकेको थियो । जनकपुर(जयनगर रेल पछि सञ्चलन हुन सकेन । लामो समय बन्द रहेको रेलमार्ग यतिबेला भने सञ्चालनमा आएको छ । यहाँको रेलले कुर्था(जनकपुर(जयनगर फन्को लगाउँछ ।

मिथिला कला र व्याञ्जन

जनकपुरको आफ्नोपन हो, मिथिला कला र व्यञ्जन । यहाँको यो एक विशिष्ठ चिनारी पनि । यहाँको चित्रकला, साहित्य, चाडपर्व र व्यञ्जनले मिथिला संस्कृतिको आफ्नोपनलाई जीवन्त राखेको छ ।

राजा जनकले छोरी सीताको विवाहका बखत मिथिला कलाले यो सहरलाई सजाएको किंवदन्ती छ । अहिले पनि यस कला संस्कृतिले जनकपुरलाई सु(सज्जित बनाएको छ । खासगरी माटाका भाँडा, घरका भित्ता आदिमा बनाइने कलात्मक चित्रले मिथिला कलाको पृथक पहिचान दिलाउँछ ।

मिथिला व्यञ्जनको छुटै इतिहास र विशिष्ठता छ । ११ औं शताब्दीमा लेखिएको मैथली पुस्तक ‘वर्णरत्नाकर र प्राकृति पिंगल’मा मैथली खानाबारे उल्लेख छ । मिथिला व्यञ्जनमा कढी बरी, खिचडी, घुघनी, सातु, बजका, माछा झोर, मखान खीर आदि समावेश छन् ।

जनकपुर ः नकुँदिएको मणि

यी सम्पूर्ण बखानहरुको एउटै निचोड हो, जनकपुर एक स्वर्णिम गन्तव्य हो । जनकपुरमा के छैन रु पौराणिक सम्पदा छ, मुगल वास्तुशिल्प छ, प्राचिन व्यञ्जन छ, विशिष्ठ कला छ, समृद्ध जलकुण्ड छ, आधुनिक रेल छ । तैपनि किन यो अपुरो छ ?

किनभने यहाँ पर्यटकीय पूर्वाधार छैन । आवश्यक प्रचारप्रसार छैन । त्यसैले यहाँ धार्मिक आस्था राख्नेहरूले मात्र यसको गरिमालाई धानिरहेका छन् । जबकि यो एक भव्य पर्यटकीय गन्तव्य हो । यहाँ वास्तुकला, व्यञ्जन, संस्कृति अवलोकन गर्ने पर्यटकहरु विरलै आउने गर्छन् । किनभने यहाँ उचित खानपान, वसोवासको व्यवस्था छैन ।

स्तरीय होटल, लज नहुनु र उचित ढंगको प्रचार प्रसार नहुनुले पनि जनकपुरलाई ओझेलमा पारेको छ । यहाँको जलकुण्डहरुमा जलबिहार गराउने, मिथिला व्यञ्जनको ब्रान्डिङ गर्ने जस्ता काम हुनै बाँकी छ । यसैगरी यहाँको वास्तुशिल्प र पौराणिक महत्वलाई दर्शाएर आगन्तुकलाई आकर्षित गर्न बाँकी छ । खासमा जनकपुर नकुँदिएको मणि हो । कुँद्न बाँकी छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.