१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा



काठमाडौं। तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ। येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा रसुवागढी-केरुङ सीमापार रेलमार्ग विस्तारलगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको हो।

प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ। विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन्।

भेटवार्तामा नेपाल-चीन सीमापार विद्युतीय प्रशारण निर्माणबारे पनि छलफल भएको थियो। वाङले विद्युतीय प्रशारण लाइन निर्माणमा पनि आर्थिक सहयोग गर्ने जनाएको मन्त्रालयले बताएको छ।

परराष्ट्रमन्त्री खड्काले देशका विभिन्न भागमा विपद् र प्राकृतिक प्रकोपबाट पीडित जनताका लागि सहयोगका लागि आग्रह गरेकोमा चीनले नेपाललाई ५ करोडभन्दा बढी रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा विदेशमन्त्री वाङले गरेका छन्।

त्यसैगरी चीनले नेपाललाई ३ करोड ७८ लाखभन्दा बढी रुपैयाँ बराबरको बेग्लै चिकित्सकीय सामग्री उपलब्ध गराउने समेत जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ९ : ३३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.