४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कानेपोखरीको कानको स्तम्भ तस्बिर सामाजिक सञ्जालमा भाइरल,इतिहासलाई बदनाम गरेको आरोप



काठमाडाैँ, मोरङको कानेपोखरी गाउँपालिकामा रहेको ‘कानेपोखरी संरक्षण’को नाममा कानको स्तम्भ बनाएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । संघीय सरकारका तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालको पहलमा कानेपोखरी संरक्षणका लागि सशर्त अनुदानमार्फत ५० लाख रकम आर्थिक वर्ष ०७७÷०७८ को अन्तिम चौमासिकमा निकासा भएको थियो ।

उक्त रकमले पोखरीको प्रवेशद्वार, शौचालय, प्रतीक्षालय, ट्र्याक ओपन, गिट्टी बिछ्याउने, कान र हरिणको प्रतिमा, ह्युमपाइप जडान लगायतको काम भएको कानेपोखरी गाउँपालिकाले जनाएको छ । यद्यपि सामाजिक सञ्जालमा भने कान बनाएको विषयमा चर्को आलोचना भइरहेको छ ।

पूर्व सचिव भीम उपाध्यायले ४१ लाखमा बनेको कानको स्तम्भ भन्दै फेसबुकमा पोष्ट गरेपछि यसको आलोचना अझै तीव्र बनेको थियो । गाउँपालिकाले भने सामाजिक सञ्जालमा आएजस्तो कान बनाउनकै लागि ४१ लाख खर्च नभएको जनाएको छ । गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, लेखा अधिकृत अजित भट्टराईले विवरण सार्वजनिक गर्दै कान बनाउँदा ५ लाख खर्च भएको जनाएका छन् ।

त्यस्तै दुईवटा हरिणको प्रतिमा बनाउन पनि ५ लाख खर्च भएको जनाइएको छ । ‘आयोजनाको कार्यसम्पन्न प्रतिवेदन अनुसार कानको शालिकमा ५ लाख खर्च भएको देखिएको ब्यहोरा सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ,’ सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

महालेखाले भन्यो– काम गुणस्तरीय भएन

यसैबीच महालेखा परीक्षक कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनमा कानेपोखरी संरक्षणको नाममा बनाइएको संरचना एक वर्ष नपुगी भत्किन थालेको भन्दै प्रश्न उठाएको छ ।

‘कानेपोखरी गाउँपालिका सार्वजनिक खरिद नियमावली, २०७७ को नियम १०७ (१३) अनुसार निर्माण कार्यको रेखदेख तथा मर्मत सम्भारको जिम्मेवारी उपभोक्ता समितिलाई नै हस्तान्तरण गरिने तथा सोका लागि न्यूनतम ५ प्रतिशत रकम कट्टा गरी पालिकामा राख्न सकिने व्यवस्था भएकोमा स्थलगत अनुगमन गर्दा निर्माण भएको ट्रस्टको पेटी एक वर्ष पनि नपुगी भत्किएको देखियो । पालिकाले मर्मतको लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाउनु पर्ने, मर्मत सम्भार कट्टी गरेर नियमावलीले तोकिएको अवधिसम्म राख्नुपर्ने तथा कामको गुणस्तरलाई ध्यान दिनुपर्ने देखिन्छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

इतिहासलाई बदनाम गरेको आरोप

यसैबीच कानेपोखरीका आदिवासी धिमाल समुदायको संस्कृतिसँग जोडिएर कानेपोखरी नाम रहेको भए पनि पुरुष मानिसको कान बनाएर उक्त संस्कृतिको खिल्ली उडाएको धिमाल समुदायले बताएका छन् । किम्बदन्ती अनुसार काने देवता, काने महाराज, काने गोठालो या कानको गहना दिने बुढी मानिस तथा कानको आकारको पोखरी भएकोले कानेपोखरी नाम रहन गएको हो ।

तर, उक्त क्षेत्रमा मानिसको कान बनाएर उक्त इतिहासलाई तोडमोड गरिएको कानेपोखरीका अगुवा प्रकाश धिमाल बताउँछन् । ‘मानिसको कानसँग यो पोखरीमा के सम्बन्ध छ ? कानले के सन्देश दिन्छ ? कान बनाएर पैसा किन खेर फालियो ?,’ उनी भन्छन्, ‘पोखरीको संरक्षण गर्नुपर्छ तर पैसा सक्न जथाभाबी गर्नुभएन, इतिहास मेटिने कार्य घोर भर्त्सना गर्दछौँ ।’

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.