काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले आजबाट छलफल सुरु गर्ने भएको छ।
गठबन्धनद्वारा गठित पाँचदलीय कार्यदलले बैठक बसि आजबाट सिट बाँडफाँडको गृहकार्य सुरु गर्न लागेको हो।कार्यदलको पहिलो बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। बैठकमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँटको मोडालिटीमा प्रारम्भिक छलफल हुने कार्यदल सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए।
गत शुक्रबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट ३ जना र अरु दलबाट २–२ जना सदस्य छन्। सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेलगत्तै सत्ता गठबन्धनका दलहरुबीचको बैठकले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको थियो।
यो सहमति कार्यान्वयनका लागि कार्यदलले सिट बाँडफाँटको मोडालिटी बनाएर नेतृत्वलाई बुझाउने छ। सिटमा गर्ने दाबीबारे कुनै पनि दलले आन्तरिक रुपमा औपचारिक छलफलसमेत नगरीसकेकाले तत्काल मोडालिटी टुंगो लाग्ने भने देखिएको छैन।
गत शुक्रबार बजेसको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव वेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।