काठमाडौं।आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि दल दर्ता शुरू भएको छ। दर्ताका लागि साउन २२ देखि ३१ गतेसम्म समय तोकिएको छ।
आयोगमा २०७९ साउन गतेसम्म दर्ता भएका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। अहिले निर्वाचनमा आयोगमा ११६ दल दर्ता छन्।
दल दर्ताका लागि राजनीतिक दलको पूरा नाम‚ स्थापना भएको मिति‚ आयोगमा दर्ता भएको मिति‚ केन्द्रीय कार्यालय भएको ठेगाना‚ पत्राचार गर्ने ठेगाना‚ टेलिफोन नम्बर‚ इमेल‚ वेबसाइट र सामाजिक सञ्जालको खाता खुलाउनुपर्ने आयोगले जनाएको छ।
यस्तै‚ केन्द्रीय कार्यकारिणी समिति‚ प्रदेश र जिल्ला समितिका पमदाधिकारी तथा सदस्यको संख्या पनि उल्लेख गर्नुपर्ने छ। दलले आयोगमा वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति‚ दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्ने छ।