६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सामाजिक सुरक्षाभत्ता बितरणलाई सहज बनाउन प्रयासरत रहेको थुलुङदुधकोशी अध्यक्ष राईको भनाई



सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं- ८ बुडिडाँडामा लक्ष्मी बैंकले शाखा रहित सेवा सुरु गरेको छ।

सो सेवाको गाउँपालिका अध्यक्ष असिम राईले बुंडीडाँडामा आयोजित एक कार्यक्रमका बीच सोमबार उद्घाटन गर्नुभएको हो।अध्यक्ष राईले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन सरकारले बैंकिङ प्रणाली लागु गरेपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा नं. ७ र ८ लाई लक्षित गरि बुडिडाँडामा सेवा सुचारु गरिएको बताउनुभयो । यस्तै जुबु र लोखिमलाई लक्षित गरी केहि दिनभित्रमा नै सुकेपोखरीमा पनि यस्तै शाखारहित सेवा सञ्चालन गरिने अध्यक्ष राईको भनाई छ ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज र प्रभाववकारी बनाउन गाउँपालिका प्रयासरत रहेको बताउंदै अध्यक्ष राईले बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्दा हुने हैरानी यस्ता बैंकिङ सेवाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो।

कार्यक्रममा बैंकका मेनेजर प्रेम बहादुर बस्नेतले लक्ष्मी बैंक मुक्लिबाट प्रदान गरिने सबै सेवाहरु शाखा रहित काउण्टरबाट प्राप्त गर्ने सकिने जानकारी दिनुभयो । अब देउसाका नागरिकहरु खाता खोल्न, सिमित रकम राख्न तथा पठाउँन एमव् झिक्न सकिने उहाँको भनाई छ ।
स्थानीय सरकारले हरेक नागरिकको समस्यालाई मध्यनजर राख्दै भुगोल अनुसार टोलमा नै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइने वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीले बताउँनुभयो । गाउँपालिका प्रबक्ता समेत रहनुभएका कार्कीले वडा तहमा देखिएको समस्या समाधान गर्ने दायित्व वडा सरकारको भएकाले सोही अनुसार जिम्मेवारी बहन गरेको अवस्थामा नागरिकलाई सहजता मिल्ने उहाँको विश्वास छ ।

देउसामा सञ्चालित लक्ष्मी बैंकको उक्त शाखा रहित सेवाका सञ्चालक चुडामणि केसी रहनुभएको छ । उहाँले प्रभावकारी सेवा प्रवाहमा आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : १३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.