काठमाडौं।प्रतिनिधि सभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ ।
बैठकमा उक्त विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेका जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
मन्त्री खाणद्वारा प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो ।विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।
विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए ।वैवारिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।