३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

नेचासल्यान जनताको स्वास्थ्यप्रति सम्बेदनहिन र गैरजिम्मेवार बनेको स्थानीयको आरोप


३२ असार २०७९, शनिबार  


काठमाडौं।नेचासल्यान गाउँपालिकाले स्वास्थ्य सेवासहित करारका अन्य कर्मचारीहरुको करार नविकरण नगर्ने निर्णय नगरेपछि सर्बसाधारणहरु तत्कालका लागि उपचार सेवा पाउँनबाट बन्चित भएका छन्।

अघिल्लो स्थानीय सरकारले सञ्चालनमा ल्याएको नेचासल्यान वडा नं-३ स्थित कोभिड अस्पताल बन्द गर्ने गाउँपालिकाको तयारी र स्वास्थ्य सेवाका करार कर्मचारीहरु हटाएसंगै सहज स्वास्थ्य सेवा पाउंदै आएका नेचासल्यानबासीहरु फेरि सामान्य उपचारका लागि पनि जिल्ला अस्पताल फाप्लु र छिमेकी जिल्ला ओखलढुंगास्थित मिसन अस्पताल कतिन्जेल धाउनुपर्ने हो यकिन छैन।

गाउँपालिकाको वडा नं-२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले पनि शनिबार एक सूचना प्रकाशित गरी करार सेवाका कर्मचारी हटाएको कारण देखाउंदै प्रसुती र ओपीडी बाहेकका सम्पूर्ण सेवा तत्कालका लागि बन्द गरिएको जनाएको छ।

शनिबार बसेको सो स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुको आकस्मिक बैठकले कर्मचारी अभावका कारण २४ सै घण्टा सेवा दिन नसकिने निष्कर्ष निकाल्दै अर्को ब्यबस्था नभएसम्मका साउन १ गतेदेखि लागु हुनेगरी प्रसूति र ओपीडी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

केन्द्रले सूचना प्रकाशित गरेर सेवा बन्दको सूचना प्रबाह गरेसंगै स्थानीय सरकारको गैर जिम्मेवारीपनका कारण नागरिकहरु उपचार सेवाबाट बन्चित हुनुपरेको भन्दै तीब्र बिरोध सुरु भएको छ। विकल्प बिना फगत राजनीतिक स्वार्थ सिद्दिका लागि हठात करारका कर्मचारी हटाउने स्थानीय सरकारको निर्णय जनताको स्वास्थ्यप्रति सम्बेदनहिन र गैरजिम्मेवार बनेको स्थानीयको प्रतिक्रिया छ।

नेचासल्यान गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पञ्जीकरण शाखा र विद्यालय कर्मचारी बाहेक सम्पूर्ण अस्थायी र करारका कर्मचारीको म्याद साउन १ गतेदेखि थप नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.