मुक्तक १
जसरी नि मिलाउँछु परिपाटी, चित्तै बुझ्दैन
बिहान बेलुका छ्याटछ्याटी, चित्तै बुझ्दैन
छिमेकी हुँ, छिमेकीको धर्म निभाउनै पर्यो,
पिठ्युँ पछाडि कुरा नकाटी, चित्तै बुझ्दैन !
मुक्तक २
परिश्रम शुभनाम हुनुपर्छ, पराक्रमको थर देखाउनु पर्छ
समर्पण श्रद्धेय होस्, आत्मीयता बरोबर देखाउनु पर्छ
जिन्दगी रणभूमी हो भने, जीवन प्रतिरूप हो योद्धाको
यहाँ प्राण जोगाउन मृत्युलाई मृत्युको डर देखाउनु पर्छ !
मुक्तक ३
सबै सपना फक्रिन कहाँ पाउँछन्, केही मार्नु पनि पर्छ
उत्सव विजयको सधैंभरि नहोला, कतै हार्नु पनि पर्छ
ठुलै भूमिका खेल्छ समाज निर्धारणमा आत्मालोचना,
प्रशंसा सँगै होलान् बरू आलोचना, स्वीकार्नु पनि पर्छ !
मुक्तक ४
कुरा विश्वासको हो,होउन् बाधा अनेकन, फरक पर्दैन
कुण्ठाहरू सामीप्यता टुटाउन खोज्नेछन्, फरक पर्दैन
जिउने चाह साहसी होस्, जीवन भेटिन्छ कण कणमा
जिन्दगी चाहे थार झैं बनोस् वा तपोवन, फरक पर्दैन !
******
गोपाल पुन
त्रिवेणी गाउपालिका- २, सल्यान
प्रतिक्रिया दिनुहोस्