काठमाडौं।निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था छ ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द शर्मा (कोइराला), मुख्यसचिव शंकरदास बैरागी लगायतसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीसँग भने, ‘हामीले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति प्रस्ताव गर्यौँ ।’ उनले १२० दिन समयावधि हुने गरी निर्वाचनको मिति तोकिदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको बताए ।