काठमाडाैं ।नेपाल आयल निगमले देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न सरकारलाई सुझाव दिएको छ।
पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न उपाय समेटेर नेपाल आयल निगमले सरकारलाई १० बुँदे पत्र बुझाउंदै निगमले सोमबार त्यस्तो सुझाव दिएको हो।१० बुँदे सुझावमा बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्नेसम्मको कुरा उल्लेख भएको छ ।
सरकारलाई पठाएको १० बुँदे पत्रमा निगमले भनेको छ, ‘राज्यमा विदेशी मुद्राको सञ्चिती पनि कम हुँदै गएको, निगमको नोक्सानी कम गर्न गरिने मूल्य समायोजन पनि आवश्यकताअनुसार हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्नुपनि एउटा महत्वपूर्ण विकल्प देखिएकोले सो का सुझावहरु पेश गरिएको छ ।’ त्यसका लागि निगमले १० बुँदे सुझाव पेश गरेको छ।
यस्ता छन् १० बुँदे सुझाव
१) सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने ।
२) देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्ने ।
३ ) खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा विक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।
४) विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक र निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ स्थल तोकिदिने ।
५) पेट्रोल पम्पहरूले मोटर साइकललाई एक पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने।
६ ) छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने ।
७ ) ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।
८ ) मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने ।
९) पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।
१०) ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने।