काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।
यस महानगरपालिकाले यो वर्ष महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याएको छ । शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन भएको महानगर शिक्षा शाखाले जनायो । सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको छ ।