काठमाडौं।सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुलुङले गाउँपालिकाको समृद्धिको आधार पर्यटन भएकाले त्यसको बिकास र बिस्तारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार गाउँपालिकाको वडा नं-१ स्थित चेरेम युवा समाजद्वारा राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलुङले सो कुरा बताएका हुन्।उनले कुलुङ, शेर्पा लगायतका जातजातीको भाषा संस्कृतिको संरक्षणका साथै पर्यटन क्षेत्रको विकासका लागि पोटर, गाइड, कुक लगायतका सीपमूलक तालिम संचालनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे।
महाकुलुङ ‘भर्जिन ल्याण्ड’भएकाले प्रदेश र संघीय सरकारले उपलब्धि देखिने गरि लगानी गर्न सके पर्यटनबाट सजिलै राजस्व संकलन गर्न सकिने उनको भनाई थियो ।
गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट महाकुलुङ गाउँपालिका अध्यक्ष राईसहित अन्य दुईजना सगरमाथा आरोहिहरुलाई सम्मान गरिएको सो कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै नेकपा एमाले महाकुलुङका अध्यक्ष मछिन्द्र कुलुङले खुम्बुपछिको संभावना बोकेको थलो महाकुलुङ भएकाले पर्यटन विकासमा समन्वय र सहकार्यको भावनाबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
आरोही पासाङ ओङछु शेर्पाले संभावना रहेपनि संरचना र प्रचार अभावमा महाकुलुङको पर्यटन फस्टाउन नसकेको बताए ।पर्यटनको विकासकै लागि पालिकाको लोगो लिएर सगरमाथा आरोहण गरेको शेर्पाको भनाई थियो ।
चेरेम यूवा समाजका कार्यवहाक अध्यक्ष फुर्लाक्पा शेर्पाले मेरापिक क्षेत्रको पर्यटन विकासका लागि चरेम हुँदै विकास गरिने पदमार्ग दीगो हुने दाबी गरे । दुर्घटनाको जोखिमका हिसावले पनि चेरेम रुटको पर्यटन मार्गको विकास उपयुक्त हुने भन्दै प्रदेश सांसद र पालिका अध्यक्षको ध्यानाकर्षण गराए ।