५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

काठमाडौ महानगरपालिकाले लगायो सार्बजनिक स्थलमा भिख माग्न रोक



काठमाडौं।काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा भिख माग्न रोक लगाएको छ।

महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र सार्वजनिक स्थलमा भिख माग्ने कार्य बन्द गर्न निर्देशन दिएको छ। निर्देशनको अवज्ञा गरे प्रचलित कानून ‍अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

सूचनामा उल्लेख छ‚ “यस सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ।”

महानगरले भित्री सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिख माग्न रोक लगाएको हो।साथै‚ बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई रकम वा ज्याला दिई भिख माग्न दुरुत्साहन नगराउन पनि महानगरले आग्रह गरेको छ।

तर‚ साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरे‚ कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्न भने रोक लगाएको छैन। यस्तै‚ असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरपालिकाले जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले सार्वजनिक स्थानमा भिख माग्न दुरुत्सान गरेको पाइए एक महिना कैद र एक हजार रुपैयाँदेखि तीन वर्ष कैद र ३० हजार रुपैयाँ गर्न सकिने उल्लेख छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ४५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.