५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

रहस्यमयी दासढुङ्गा घटना:पार्टीको लागि क्षति सीमित व्यक्ति को सत्ता प्राप्ति को रोटी सेक्ने माध्यम।मन्दिरा शर्मा पौडेल



मन्दिरा शर्मा पौडेल।एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी मृत्यु भएको करिब तीन दशक हुन लागेको अवस्थामा पनि त्यो घटना खासमा हत्या थियो कि दुर्घटना ? भन्ने विषय केवल ती नेताहरूको स्मृति दिवसका अवसरमा उठाइने मुद्दाभन्दा बढी हुन सकेको छैन ।

‘म नै भिक्टिम हु। दोषीलाई खोजी गरेर कार्बाही होस् भन्ने ‘अपेक्षा’ मेरो जति कसको हुनसक्छ र ! अरुले मबाट ‘अपेक्षा’ गर्छन तर म आफैँ ‘भिक्टिम’ हु भन्ने कुरा कसैले नसोच्ने भयो।’ – यी कुरा विद्या भण्डारी ले १५ वर्ष अगाडि चाबहिल मा डेरा गरी बस्दा फिल्म निर्माता टीम का सदस्य किरण पौडेल संग गरिएको संवाद हो, तर आज तपाईं राष्ट्रपति हुनु हुन्छ महामहिम ज्यू, तपाईंले चाहनु भयो भने उच्च स्तरीय छानबिन टोली गठन गरेर सत्य निकाल्न सक्नु हुन्छ।जनताले यो चुप्पी को धेरै अर्थ लगाएका छन्, त्यता तिर नी ध्यान दिनु होला, राज्य द्वारा गठित २ वटै आयोग (प्रचण्डराज अनिल र त्रिलोक प्रताप राणा) ले हत्या नभई साधारण दुर्घटना भनेको छ भने नागरिक समाज र पार्टीगत छानबिन २ वटै टोली(पद्म रत्न तुलाधर र केपी ओली) ले दुर्घटना नभई षड्यन्त्रमूलक हत्या हुन सक्ने भनेको छ।राज्यले हत्या हत्या नमानेको अवस्थामा प्रहरीले खोज अनुसन्धान गर्न मिल्दैन, राज्य ले नै षडयन्त्रमूलक हत्या को रूपमा स्वीकार गरिनु पर्छ अनि बल्ल अनुसन्धान फेरि सुरु हुन्छ र केही न केही पत्ता लाग्छ।मदन भण्डारी द्वारा प्रतिपादित “जनताको बहुदलीय जनवाद ” को रोटी सेक्ने एमालेका नेताहरु पटक पटक भन्ने गर्थे , हामी सरकारमा गयौँ भने ‘हत्यारो’ टुँडिखेलमा ल्याउँछौ भनेर भाषण गरेका माधव र केपी का भाषणहरुअहिले नी पाइन्छन्। तर जब जब सरकारमा गए दासढुङ्गा को मुद्धा कहिले उठेन, यसलाई सत्ता प्राप्तिको भर्याङ बनाए मात्रै।यो घटनाको छानबिन गर्ने एमालेकै जिम्मेवारी हो जब सम्म गर्दैन औंला उतै तेर्सिने कुरालाई असामान्य रूपमा लिनु हुँदैन। घटना संकास्पद हुनु को पछाडिका केही तथ्य हरु:
१.दुर्घटनापछि जिपसँगै आफू पनि त्रिशूली नदीमा खसेको भन्ने बयान दिएका चालक अमर लामाले सुरुमा गाडी लिरबिर गरेको, ब्रेक हान्न खोज्दा ब्रेक नलागेको, भित्तामा ठोकाउन खोज्दा नसकेको, मदन भण्डारी अगाडिको सिटमा बेल्ट बाँधेर बसेको, आफू पनि गाडीमै नदीमा खसेको, पानीबाट पौडिएर बाहिर निस्केको र करिव डेढ सय फिट तलबाट माथि सडकमा आएको भन्ने बयान दिएका थिए। तर, लामाको कुहिनो र नाकमा बाहेक कतै खास चोटपटक नलागेको र उनले गोडामा लाएको चप्पल समेत लगाएर नारायणघाट पुगेको।
२.जिप खसेको दासढुंगाको मूल सडकको दाहिनेतर्फ भुसको थुप्रो राखिएको थियो भने देब्रेतर्फ तीन वटा ससाना बालुवाका थुप्रा थिए। दुर्घटनास्थल आसपास कतै पनि बस्ती नरहेको र निर्माण कार्य समेत नभएको एकान्त ठाउँमा ती संकेत केका थिए ?३.जिपसँगै नदीमा खसेका चालकलाई दुर्घटना लगत्तै विदेशी नम्बर प्लेटयुक्त कालो सिसा भएको गाडीले नारायणघाटमा लगेर छाडेको देखिन्छ, त्यसपछि उक्त गाडी लामालाई छाडेर नवलपरासीतर्फ लागेको।
४.घटनापछि लामाले काठमाडौँसहित विभिन्न नम्बरमा ३ मिनेट भन्दा लामो फोन संवाद गरेर २४ रुपैयाँ तिरेका छन् जबकी, त्रिशुलीबाट पौडिएर बाँचेको भन्दै फोन गरिरहेका लामाको खल्तीको पैसा भने नभिजेको अवस्था।
५. घटनास्थल को स्थिति:मुग्लिन तर्फ बाट आउँदै गर्दा घुम्ती हरु सकिएर सीधा बाटो अनि त्यही बाट बाटो र नदीको दूरी बढ्दै जान्छ अझ भनौं त्यहाँ भन्दा अगाडि दुर्घटना भए नी गाडी खोलामा पुग्दैन।यसबाट नी घन्तस्थल चयन गरिएको देखिन जान्छ।
६.भारत हुँदै घटना हुन भन्दा २ साताअघि पर्यटक भिसामा पोखरा, होटल होलिडेको कोठा नम्बर ५ मा बसेक ३३ वर्षीय फ्रेंच नागरिक बिडम बर्नाड दिपेन्द्र सभागृहमा सम्पन्न मदन भण्डारीको अन्तिम सम्बोधनको बेलासमेत कार्यक्रममा पस्ने प्रयत्न गरेको र दासढुंगा दुर्घटना पछि पनि पोखराका राजनीतिक कार्यक्रममा देखा परेको।
७. पोस्ट मार्टम रिपोर्ट मा शरीर भित्र पानीको मात्रा कम भेटिनु, पानी मा डुबेर मृत्यु भएको हो भन्ने कुराको पुष्टि नहुनु।

षडयन्त्रमूलक हत्या हो भने कारण के हुन् सक्छन्?
१.कुनै सार्वजनिक पद मा नपुग्दै चुलिएको छवि।
२. प्रखर,स्पष्ट र सबैलाई चुनौती दिन सक्ने खुबी।
३.महाकाली सन्धीको विरोधी हुनु(जुन त्यसपछि ओली लगायत का नेता हरुको संलग्नता मा पास भयो)।
४. कांग्रेस मा गिरिजाको कट्टर आलोचक र गणेशमानको प्रशंसक।मदन भण्डारी बाट गिरिजा प्रसाद लाई नी इंडिया को चाख अनुसार काम गर्न बाधा पुर्याउन सक्ने खतरा।
५.एमालेका दोस्रो तहका नेताहरु भित्रका स्वार्थी जमात,जसलाई मदन भण्डारी को लोकप्रियता ले आफूहरु सधैं छायाँमा पर्ने चिन्ता (आज जो पटक पटक सत्ता को रसोस्वादन गरिहेका छन् ,सायद मदन भण्डारी जीवित भएको भए यो अवस्था आउने थिएन)
६.प्रसिद्ध पत्रिका न्युजविकले ‘इन नेपाल, कार्ल माक्र्स लिभ्ज’ शीर्षकमा सन् १९९१ को मे २७ प्रकाशित अन्तर्वाता जसमा १२ वटा प्रस्न सोधिएको थियो। यस बाट सीआईए को नजर मा खतराको सूचीमा पर्नु।
दासढुङ्गा दुर्घटनाकाण्डका एक मात्र साक्षी थिए अमर लामा । उनलाई पनि अन्ततः मारियो । दासढुङ्गा घटनाको दश वर्षपछि २०६० साउन १२ गते राजधानीमा लामाको हत्या भएको थियो ।एमाले ले षडयन्त्रकारी गद्धार भनेर पार्टी बाट निष्कासित समेत गर्यो र त्यही आरोपमा ४ वर्ष जेल बसे पछि लामा पत्रकारिता मा सक्रिय थिए। ताजा खबर साप्ताहिक कार्यलयमा सो पत्रिकाका सम्पादक फणिन्द्र दाहाल, अतिथि सम्पादक ईश्वरी वाग्ले र संवाददाता ज्ञानप्रसाद पौडेल भोलिपल्ट (सोमबार) निस्किने अखबारको तयारीमा व्यस्त थिए भने पाँच मिनेटअघि मात्र ‘जनआवाज’ नामक आफ्नो स्तम्भका लागि लेख लिएर आइपुगेका प्रबन्ध सम्पादक अमर लामालाई अप्रत्यासित रूपमा पौने दुई बजे तिर ‘अमर दाइ ! नमस्ते’ भन्दै तीन जना अपरिचित युवकहरू डिल्लीबजार स्थित कार्यालयमा प्रवेश गरेर अँगालो हालेर कार्यालयबाहिर निकाले हेड क्वार्टर बाट आएको काम छ भन्दै ।

त्यसको २ घण्टा पछि कीर्तिपुर नयाँबजार बीच बजारमै लामाको गोली हानी हत्या गरियो।उक्त घटनामा प्रयोग गरिएको ट्याक्सी बा १ ज २५६० भोलि पल्ट चालक दाताराम अधिकारी ट्याक्सीसहित आफैं उपत्यका अपराध अनुसन्धान महाशाखामा उपस्थित भएका थिए । तर यति धेरै साक्षी प्रमाण हरु भएको घटना पनि आज सम्म पत्ता लाग्न सकेको छैन, कारण मदन – आश्रित जुन गिरोह ले हत्या गरेको हो लामालाई नी त्यही गिरोह ले नै हत्या गरेको हुनु पर्छ, सायद अमर लामा बाट यो रहस्य कुनै पनि बेला सार्वजनिक हुने डर थियो होला।
अन्त्य मा, एमालेको छानबिन समितिले अर्थात् केपी ओली ले तयार पारेको प्रतिवेदनमा धेरै कुरा उल्लेख छन् तर, यो घटनापछि निरन्तर मौन बस्दै राजनीतिक अस्त्र मात्रै बनाइरहेको एमालेले प्रतिवेदन बाहिर किन ल्याएको छैन? प्रश्न अनुत्तरित नै छ।मदन भण्डारी को अन्त्य ले एमालेलाई ठूलो क्षति भए ता पनि सीमित व्यक्ति हरुलाई असीमित लाभ चाहिँ पक्कै मिलेको छ।

मन्दिरा शर्मा पौडेल ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.