६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

एकीकृत समाजबादीमा थप संकट चुंलिदै,१० सांसदले गरे संसदीय दल बैठक बोलाउन माग



काठमाडौं।मन्त्री हेरफेरको बिषयमा बिबाद बढ्दै जांँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थप अप्ठ्यारोमा परेका छन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री देउवाले लामो समयसम्म पनि सो सिफारिस कार्यान्वयन गरेका छैनन् ।यो बिषयले समाजबादीमा असन्तुष्टि चुलिंदो छ।

यही बिषयलाई लिएर पार्टीका १० सांसदले मन्त्रीहरु फेर्ने निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै शुक्रबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन्। यस्तै, सांसदहरु गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले पार्टीका मन्त्रीहरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : १६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.