२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

प्रधानमन्त्री देउवाले दिए अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई धोका,सांसदहरु आक्रोशित



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित हुने जानकारी गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम समयमा आएर धोका दिएपछी समितिका सदस्य सांसदहरु आक्रोशित बनेका छन् ।

आइतबार बसेको समितिको बैठकमा आमन्त्रण गरिएका प्रधानमन्त्री देउवाले अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएपछि उनीबिरुद्द खेद प्रस्ताव पारित गर्नुपर्ने कुरासम्म उठेको बैठकआ सहभागी एक सदस्यले जानकारी दिए। ।

समितिले अमेरिकाद्वारा प्रश्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो । तर, प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर सांसदहरुले विभिन्न टिप्पणी गरेका थिए । बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनेकुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताइन् ।

उनले भनिन्, ‘अमेरिका भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि सम्माननीय प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा उहाँले अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो ।’

उनले थप भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरियो । अनुपस्थित हुनेकुरा हाम्रो अभ्यासमा उचित नदेखिएको कुरालाई ध्यानाकर्षण गराउँदछु ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले विभिन्न प्रश्नहरु उठाउनुभएको थियो भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्रीको व्यस्थताका कारण आउन नसकेको धारणा व्यक्त गरेका थिए ।

लामो छलफलपछि गरिएको समितिको निर्णयमासमेत सत्तारुढ दलका सांसदहरुले असहमति जनाएका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : २२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.