काठमाडौँ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको थियो भन्दै, थुप्रै चुनौती पार गरेर रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आइएमईले गरेको योगदानको प्रशंसा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०–४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए ।
एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले विगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यायवाची बनेको देख्दा आफु र आफ्नो टीम प्रशन्न रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले भने, “ अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसँगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्याउन एउटा माध्यम चाहिएको थियो । आफ्नो दुःखले आर्जित रकमसंग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ । त्यही सपनालाइ बास्तविकतामा परिणत गर्न, खुसीलाइ यथार्थमा बदल्न र विश्वासलाइ सार्थक तुल्याउन आजभन्दा २२ वर्ष अघि आजकै दिन आइएमईको जन्म भएको थियो ।”
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले संचालन गरेको सम्मान स्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताए ।
त्यस्तै कार्यक्रमलाई स्वागत मन्तब्य व्यक्त गर्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औं वर्ष पुरा गर्दैगर्दा धेरै क्षेत्रमा सम्बन्ध स्थापित गर्ने अवसर आइएमईले प्राप्त गरेकाले विदेशमा श्रम गरेर नेपालमा रेमिटेन्स पठाउने आमसेवाग्राहीहरू, व्यवसायिक साझेदार , नियामक निकाय नेपाल राष्ट्र बैंक, हाम्रा सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सवैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै आगामी दिनमा झनै परिष्कृत, सरल, प्रविधियुक्त, सुरक्षित र भरपर्दो रेमिटेन्स सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको बताउँदै २२औं वार्षिकोत्सव सम्बन्धको भन्ने मुख्य थीममा आधारित रहेर यो वर्षभरी हामीले हाम्रा कार्यक्रमहरूलाई अगाडी बढाउने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ, माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले सम्बोधन गरेको कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।