खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।सगरमाथा प्रदुषण नियन्त्रण समिति (SPCC) को साधारण सभा सम्पन्न भएको छ ।
आज सम्पन्न साधारण सभाले पुरानो कार्यसमितिलाई विघटन गरी नयाँ कार्यसमितिको चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको ११ सदस्यीय कार्यसमितिको अध्यक्षमा लामाकाजी शेर्पा, उपाध्यक्ष दावाग्याल्जेन शेर्पा, महासचिव पेम्बाछिरिङ शेर्पा, कोषाध्यक्ष ङिमा टासी शेर्पा र सदस्यहरुमा क्रमशः छेतेन डोमा शेर्पा, ङिमा डोमा शेर्पा, तेन्जिङ दोर्जी शेर्पा, ङवाङ छुम्बी शेर्पा, सोनाम दोर्जी शेर्पा, फुलोप्साङ शेर्पा, ङतेम्बा शेर्पा चयन हुनुभएको छ भने सल्लाहकार समितिमा आङ फुर्वा शेर्पा, आङ दोर्जी शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन् ।
साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले SPCC को कार्यलाई अझ वैज्ञानिक र नीतिगत ढंगले अगाडि बढाउनुपर्ने बताउंदै सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनमा सरकारबाट नीतिगत व्यवस्था नभएकोले स्थानीयस्तरमा स्थापित संस्थालाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।खुम्बु र समग्र सोलुखुम्बुको विकासमा राष्ट्रिय स्तरमा एजेन्डा अघि सारी विकास निर्माणमा आफू सधैं सक्रिय रहने प्रतिबद्धता समेत सांसद शेर्पाले व्यक्त गर्नुभएको थियो।
सगरमाथा प्रदुषण नियन्त्रण समितिको वार्षिक कार्यक्रम निवर्तमान उपाध्यक्ष लामाकाजी शेर्पाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाबाट प्रस्तुत गरिएको थियो । साधारण सभामा स्थानीय सरकारी तथा गैरसरकारी कार्यालय, महिला समूह, युवा समूह, विद्यालय, खुम्बु क्षेत्र इको क्लब सञ्जाल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष आङदोर्जी शेर्पाको सभापतित्वमानाम्चे गुम्बामा भएको साधारण सभामा इको हिमालका कन्ट्री डाइरेक्टर फिन्जो शेर्पा, सीमा प्रशासन कार्यालयका प्रमुख सुजना कुमारी बर्देवा, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पा वडा नं. ३ वडा अध्यक्ष नुरु जाङ्बु शेर्पा लगायत वक्ताहरुले SPCC ले गरेको उल्लेखनीय कामको प्रसंशा गर्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।