८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

असार १ गतेदेखि मतदाता नामावली संकलन सुरु हुँदै ,आफू बसेकै जिल्लाबाट नाम दर्ता गर्न पाईने



काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै असार १ गतेदेखि नामावली सङ्कलन सुरु गर्ने भएको छ।

स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगले जनाएको छ। आयोगका अनुसार १८ वर्ष उमेर पुगेका, तर मतदाता नामावलीमा नाम नभएकाले आफू बसेकै जिल्लाबाट नामावली दर्ता गर्न सक्नेछन् ।

आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ।

आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्ताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । यसबीचमा मतदाता नामावलीमा देखिएका त्रुटि पनि सच्याइने आयोगले जनाएको छ।

पालिका चुनावमा कतिपयको नाम नभएको, दोहोरो नाम भएको र मृत्यु भइसकेकाहरुको पनि नाम रहेको भन्ने गुनासो आएको थियो। यस्ता गुनासालाई ध्यान दिँदै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने प्रयास भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उज्यालोलाई जानकारी दिनुभयो ।

वैशाख ३० मा भएको पालिका चुनावअघि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ११ : ०८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.