३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

धनगढीको मेयरमा हमाल र धरानमा साम्पाङ बिजयी



 काठमाडौं।स्थानीय तह निर्वाचनमा दुई ठूला उप-महानगरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्।

बाजी मार्नेमा कैलालीको धनगढी उपमहानगरपालिकाका गोपाल हमाल र सुनसरी धरान उपमहानगरपालिकाका हर्कमान साम्पाङ रहेका छन्। हमालले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित निकाले। हमालले २६ हजार ८६५ मत प्राप्त गरे। पराजित वडले १४ हजार ८१७ मत प्राप्त गरे।

यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लडेका हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित भएका थिए। यसैगरी, नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गरेका थिए। यस्तै, लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेर जित हासिल गरेका छन्।

यस्तै, साम्पाङले नेपाली कांग्रेसका किशोर राईको भन्दा करिब ५ हजारको अग्रताले हासिल गरेका हुन्। राईले १६ हजार ५९ मत प्राप्त गरे। यस्तै मेयरकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत प्राप्त गरिन्। अन्य स्थानको भने मतगणनाको नतिजा सार्वजनिक हुने क्रममा छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : १० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.