सोलुखुम्बु । नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिकाको मेयरका उम्मेदवार आङकाजी शेर्पाले किवीको वाईन फ्याक्ट्री खोलेर कृषकलाई धनी बनाउने योजना अघि सारेका छन् ।
२०७४ सालको स्थानीय तहको चुनाव बहिस्कार गरेको तिङ्लामा आयोजित चुनावी सभामा मेयरका उम्मेदवार शेर्पाले कृषिलाई व्यवसायीकरण गर्ने र परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा रुपान्तरण गरी आयस्तर बढाउन कृषिमा व्यापक लगानी गर्ने योजना सुनाए । ‘मैले केरुङमा परिक्षणको रुपमा ३ हजार बोट किवी रोपेको छु । त्यो किवीले उत्पादन दिन थाल्यो भने, प्रत्येक गाउँ गाउँ, कुना कुना कान्ला कान्लामा किबी खेती गराउन प्रोत्साहित गर्नेछु ।’ उनले भने ‘किबीको वाइन फ्याक्ट्री खोलेर सम्पूर्ण कृषकहरुलाई धनी बनाउने, प्रत्येक घरघरमा समृद्धि ल्याउने योजना छ ।’ उनले कृषिलाई व्यवसायीकरण गरेपछि वाईन फ्याक्ट्रीले कृषकको किवी किन्ने र यसले गाउँबाट रोजगारी खोज्दै कोही पनि बाहिरिने नपर्ने बताए । अहिले पनि सर्लाहीको तरकारीमा आश्रित हुनुपरेको प्रसंग निकाल्दै आफ्नै गाउँमा ठूला ठूला कृषि फार्महरु सञ्चालन गर्न सके उत्पादित कृषि उपज जिल्लाभित्रै खपत गर्न सकिने र खपत नभएको तरकारी बाहिरी जिल्लामा निर्यात गर्न सकिने बताए ।
अहिले बुबा आमाको मुख हेर्ने दिन पनि चाईनिज स्याउ किन्नुपरेको भन्दै उनले जिल्ला भित्रको माटो परिक्षण गरी विशेषज्ञको सल्लाह बमोजिम कुन ठाउँमा के उत्पादन हुन सक्छ ? त्यसको पहिचान गरी कृषिलाई व्यवसायीकरण गर्दै लैजाने बताए । उनले सही समयमा सही नेतृत्वको छनौट गर्न नसके विकासमा सधैं पछाडि परिरहने र भ्रष्टाचार मौलाईरहने बताए । ‘जनतालाई शोषण गर्ने भ्रष्टाचारका नाईकेहरुलाई जिताएर हामी जस्ता लाई हराएर गल्ती नगर्नुस् । यसो गर्दा यो नगर पाँच बर्ष मात्र होइन, बूढाबूढीको भविश्य त गयो, गयो, आउने पिढींको भविश्य पनि समाप्त हुनेछ’ उनले भने ‘त्यसैले गल्ती नगरीकन, हात नकमाईकन, कसैको कुनै पार्टी नभनीकन, आफ्नो गाउँको हिम्मतवाला काम गर्न सक्ने खालको हैसियत भएको मान्छेलाई जिताएर पठाउनुस्, काम गरेर देखाउने जिम्मा हाम्रो हो ।’ तिङ्लामा भएको चुनावी सभामा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका प्रदेश तथा जिल्ला तहका नेताहरु लगायत सयौं तिङ्लाबासीको सहभागिता थियो ।