काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा नेतृत्वको सरकारले एमसीसी पास गरेर देशलाई आर्थिक संकटमुक्त गरेको बताएका छन् ।
शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै पाँच दलीय गठबन्धनका संयोजक समेत रहेका नेता पौडेलले एमसिसी पास नभएको भए देशको अवस्था श्रीलंकाको जस्तो हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।
‘एमसिसी पास नभएको भए नेपालको स्थिति पनि श्रीलंकाको जस्तो हुने थियो’ उनले भने, ‘देशलाई आर्थिक संकटबाट मुक्त गराउनका लागि एमसिसी पास गरिएको हो ।’
उनले आगामी दिनमा नेपालीलाई कसैको अगाडि शीर निहुराउन अथवा हात थाप्न नपर्ने अवस्थाको अन्त्यका लागि एमसिसी पास गरिएको जिकिरसमेत गरे।वरिष्ठ नेता पौडेलले जनकपुरधाममा बागीले जित्दै आएको इतिहास रहेकोले गठबन्धन आबद्ध दलहरूलाई अन्तर्घात नगर्न आह्वानसमेत गरेका छन् ।
उनले भने,‘जनकपुरधाममा बागी उम्मेदवारले जित्दै आएको इतिहास छ । त्यसैले यसपालि गठबन्धनभित्र अन्तर्घात नगरी गठबन्धन दलभित्रका साझा उम्मेदवारलाई जिताउनुपर्छ ।’