काठमाडौं।यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दर्ता भएका मनोनयन पत्र र उम्मेदवार विरुद्ध परेका उजुरीको आजदेखि छानबिन थाल्ने भएको छ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने उम्मेदवारको विरोधमा १३ गते उजुरी आह्वान गरेको थियो। उजुरीमाथि वैशाख १४ र १५ गते छानबिन गर्ने कार्यतालिका छ। छानबिन सकिएपछि वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। ७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४७९ जनाले मनोनयन दर्ता गरेका छन्।
आयोगका अनुसार‚ प्रमुखमा तीन हजार ४६६‚ उपप्रमुखमा दुई हजार १३५‚ अध्यक्षमा तीन हजार ३७८ र उपाध्यक्षमा दुई हजार ३९२ जनाले मनोनयन दर्ता गरेका छन्। यस्तै‚ वडा अध्यक्षमा ३४ हजार ९४२‚ महिला सदस्यमा २६ हजार ६१‚ दलित महिला सदस्यमा २३ हजार ४६५‚ सदस्यमा ५४ हजार ६४० जनाले मनोनयन दर्ता गरेका छन्।