८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

केन्द्रको निर्णय नमान्ने भन्दै जनकपुरमा कांग्रेस कार्यकर्ताहरु आन्दोलित



 जनकपुर।सत्तारुढ गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन्।

आज बसेको गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबन्डा टंगो लगाएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबन्डा मिलाएको थियो। भागबन्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ। जनकपुरधामको उपप्रमुख भने नेपाली कांग्रेसले पाएको छ।

गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपालाई दिने निर्णय भएपछि स्थानीय नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरु आक्रोशित भएका हुन्। उनीहरुले जनकपुरधामको विभिन्न क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। जनकपुरधामको विद्यापति चोकमा नेपाली कांग्रेस नगर कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। उनीहरुले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्दै नाराबाजी गरेका छन्। यस्तै, गठबन्धन दलहको समेत विरोध गरेका छन्। नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै लड्न सक्ने स्थितिमा रहेको बताए। उनले जसपालाई ‘मधेशको दलाल दल’ भन्दै उनीहरुलाई पालिका दिनु निन्दनीय रहेको बताए। केन्द्रले आफूहरुको भावनासँग खेलवाड गरेको भन्दै उनले विरोधमा उत्रिएको बताए। यसअघि नै केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरुले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले बताएका थिए। गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने हिसाबले गरिएको भन्दै उनले विद्रोह गर्ने चेतावनी दिएका थिए। भने, ‘हामी केन्द्रको निर्णयको विरोध गर्छौँ। यसले कांग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको छ। यो निर्णयविरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन्।’ उनले जिल्लामा भएका शीर्ष नेताहरुसँग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको विरोधमा उत्रने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : २८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.