सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम र माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने नवनिर्मित कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन गरिएको छ ।
बुधबार आयोजित एक कार्यक्रमका बीच प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ३० टन भारवहान क्षमता रहेको पुल ३६.५७ मिटर लामो रहेको छ ।
करिब साढे पाँच करोडको लागतमा जलप नेपाल कन्ट्रक्सनले निर्माण गरेको पुलमा संघीय सरकार स्थानीय पुर्वधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड र बाँकी रकम माप्यदुुधकोशी गाउँपालिकाले बेहोरेको बताईएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद राजभण्डारीले निर्वाचन क्षेत्रको विकासमा आफुले कुनै कन्जुस्याँई नगरेको बताए । हिजो बजेटका कारण पुल बन्न ढिलाइ हुँदा आलोचना गर्ने पक्षलाई धन्यवाद दिदै पुलले जोडेको सडक सञ्जालले वाकुका नागरिकको जीवनशैलीमा अर्थ राख्ने बताए । जिल्ला समन्वय समिति संयोजक वीर कुमार राईले जनप्रतिनिधिको कामको प्रशंसा गर्दै कायाखेतमा पुलले वाकुको विकासमा दीर्घकालिन टेवा पुर्याउने बताए । कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सर्वपक्षीय विकासमा ध्यान दिएको दाबी गर्दै कुनै पनि विरोधले अर्थ नराख्ने बताए ।कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई,प्रदेश १ संगठन कमिटी सचिवालय सदस्य महेश किराँती लगायतका नेताहरुले सम्बोधन गर्दै नेकपा एमालेका जनप्रतिनिधिहरुले गाउँको बिकास र समृद्धिलाई ध्यानमा राखेर काम गरेकै कारण कायाखेत मोटरेबल पुल जस्तै थुप्रै योजनाहरु सम्पन्न भएको धारणा राखेका थिए।