८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

यी सम्झौतापत्रमा भयो नेपाल-चीनबीच हस्ताक्षर |



काठमाडौं।नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
             चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री यीसहित दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नेपाल–चीन रेलको सम्भाव्यता अध्ययनसहित नौ वटा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
             नेपाल र चीनबीच भएका समझदारीहरुमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता र सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी रहेका छन् । यस्तै, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग तेस्रो चरण मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौँ बैठकको दस्ताबेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई पाँचौँ र छैटौँ खेपमा ४० लाख सिनोभ्याक खोप खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र र चितवनमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी रहेका छन् ।
             आजै,चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो ।
         पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९३ प्रतिशत काम सकिएको छ । चिनियाँ विदेशमन्त्री वाङले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । दुई नेतालाई भेटेपछि उहाँ भोलि नै स्वदेश फर्कनुहुनेछ । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत हिजो काठमाडौं आउनुभएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.