६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

आजबाट औपचारिक भेटबार्ता गर्दै चिनियाँ बिदेशमन्त्री वाङ।



 

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रम व्यस्त रहने छन्। शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कुनै कार्यक्रममा सहभागी भएनन्।

विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा. नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच छुट्टै भेट हुनेछ।

त्यसपछि पौने ४ बजेदेखि सवा ५ बजेसम्म परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनेछ। जसमा मन्त्री खड्काको नेतृत्वमा परराष्ट्र सचिव भरतराज पौड्याल, गृह, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, पर्यटन मन्त्रालयका सचिवलगायतको टोली सहभागी हुने जनाइएको छ।

यस्तै‚ चिनियाँ प्रतिनिधि मण्डलमा विदेशमन्त्री वाङसहित नेपालका लागि चिनियाँ राजदूत होङ यान्छी, चिनियाँ विदेश मन्त्रालय, वाणिज्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। द्वीपक्षीय वार्तामा केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

विदेशमन्त्री वाङले शनिवार बेलुकी पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै प्रधानमन्त्रीकै उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समापन समारोह आयोजना हुँदैछ।

तीनदिने भ्रमणका क्रममा शुक्रवार काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्ता रुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने कार्यक्रम छ। वाङ आइतवार स्वदेश फर्कंदै छन्।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.