काठमाडौ। गत चैत्र ४ मा मोरङमा आक्रोशित स्थानीयको आक्रमणमा परी एक जना प्रहरीको मृत्युको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले दोषी पहिचान गरी सरकारलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कानुन हातमा लिइ हिंसात्मक कार्यमा संलग्न दोषीहरुलाई प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानूनी दायरामा ल्याउन भनेको हो। त्यस्तै घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार गर्न, बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनसमेत सरकारलाई आग्रह गरेको हो।
मोरङको लेटाङस्थित शिक्षा विकास मा.वि.मा अध्ययनरत एक बालिकालाई सोही विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाको विषयलाई लिएर भएको छलफलको क्रममा आक्रोशित स्थानीयहरुले आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै जाइलाग्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा अन्य १४ जना प्रहरीहरु, विद्यार्थी, शिक्षक तथा आन्दोलनकारीहरु घाइते भएकोप्रति आयोग गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, भविष्यमा यसप्रकारका घटनाहरु हुन नदिन सचेत र संवेदनशील हुन आयोगले सम्बद्ध सबै पक्षलाई अनुरोधसमेत गरेको छ।