२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

एमालेले वैशाख ९ मा घोषणापत्र सार्बजनिक गर्ने ।



काठमाडौं।नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्बजनिक गर्ने निर्णय गरेको छ।
     सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो। बैठकमा पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए। एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ।
      स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ।
       प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाका मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए। उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ। विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ।
Seen by मुक्ति बास्तोला at 4:40 PM

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ४५ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.