काठमाडौं।राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।
आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ । देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।
पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् । समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु समितिमा रहेका छन् ।
आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ ।