१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

निर्बाचन आयोगले स्वीकृत गर्‍यो आचारसंहिता,यस्तो छ ब्यबस्था



निर्बाचन आचारसंहिता राजपत्रमा प्रकाशित : सामाजिक सन्जालमार्फत भोट माग्न नपाईने काठमाडौं।

स्थानीय तहका कुनै पनि जनप्रतिनिधि पदमा बहाल रहेकै अवस्थामा उम्मेदवार हुन नपाउने भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको छ निर्वाचन आचारसंहितामा सो कुरा उल्लेख गरिएको छ।आचारसंहितामा उल्लेख गरिए अनुसार कुनै पनि जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नका लागि वहाल रहेको पदबाट दिएको राजीनामा वा निस्सासंगै पेश गर्नुपर्ने छ। आचारसंहितामा भनिएको छः ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामाग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामाग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामाग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने ।’

राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ । आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नपाइने उल्लेख छ । कार्यक्रम गर्नुपरे ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्नेछ । त्यस्तै जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न पाइने छैन । घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने आचारसंहितमा उल्लेखछ ।

त्यस्तै निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.