५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूह बिजयी



काठमाडौं।इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूह (सिडेन)को प्यानलै विजयी भएको छ।

३३औँ केन्द्रीय कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनबाट सिडेनको प्यानलै विजयी भएको हो। लोकतान्त्रिक समूह

बाट डा. हरिबहादुर दर्लामीको नेतृत्वमा उपाध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उपमहासचिवमा सरोज धिताल र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः दिनेश त्रिपाठी र दीपक अधिकारी प्रतिस्पर्धामा उत्रिएका थिए ।

महासचिव विजयी भएका रविभूषण झाका अनुसार निर्वाचन परिणामसँगै दर्लामीको नेतृत्वमा ३३औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका हुन्। लोकतान्त्रिक प्यानलबाट दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए। दिलीपकुमार झाको नेतृत्वमा अर्को समूह पनि आधिकारिकताको दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएको थियो। तर,सो समूहलाई संस्थाको हितविपरीत गएको भन्दै सिडेनले कारबाहीसमेत गरेको थियो। यसबाहेक माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टीनिकटको एकीकृत प्रगतिशील इन्जिनियर समूहको नेतृत्व डा. हरिराम पराजुलीले गरेका छन्।

इन्जिनियर डा. सुरज लामिछानेको नेतृत्वमा बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो। त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीनिकट इन्जिनियरहरूको प्यानलले बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन बनाएको थियो। नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर्स सोसाइटी नेपालका तर्फबाट राजेन्द्रप्रसाद हाडा नेतृत्वको प्यानल मैदानमा उत्रिएको थियो।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.