काठमाडौं।आगामी चैत ८ र ९ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको संसदको सबैभन्दा ठुलो दल नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।
बैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्बाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी रणनीति तय गर्नका लागि सो पार्टीले केन्द्रीय तहका बैठकहरु लगातार आयोजना गर्न लागेको हो।सो पार्टीले चैत ७ गते पोलिटब्युरो र १४ गते स्थायी समितिको बैठक समेत बोलाएको छ। बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल हुने बताइएको छ।यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले हालै सम्पन्न प्रदेश प्रशिक्षणका क्रममा प्राप्त नेता कार्यकर्ताहरुबाट प्राप्त सुझावका आधारमा चुनावी रणनीति तय गर्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको थियो । ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।