काठमाडौं।एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आधारहिन र भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो?’ भन्दै एक सार्बजनिक कार्यक्रममा प्रश्न गरेपछि नेता रावलले सोमबार ट्विटरमार्फत त्यसको जवाफ दिएका हुन। सोमबार नुवाकोटमा देउवाले दिएको उक्त अभिव्यक्तिको जवाफ दिँदै रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’ रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्।
उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका हुन्। ‘प्रधानमन्त्री देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ। उत्तर हेर्नुहोस्- नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहीत स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो।’ ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कृत्य छोप्ने कुप्रचार गरेको हुनुपर्छ ।