५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

महाधिवेशनको मिति सार्ने संस्थापन पक्षको निर्णयप्रती इतरपक्षको बिरोध



 काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन तथा निर्वाचनको मिति तीन दिन पछि सरेको छ।

संघले मंगलबार सूचना जारी गर्दै मार्च २४ र २५ मा महाधिवेशन गर्ने जानकारी गराएको हो।यो सहित संघको महाधिवेशन मिति सरेको पांचौं पटक हो । यसअघि मार्च २१ र २२ गते निर्वाचनको मिति तय गरिएको थियो । निर्बाचनको मिति पछि धकेल्ने संघको संस्थापन पक्षले जारी गरेको सूचनाको अध्यक्षका प्रत्याशी कुल आचार्य र संघका वर्तमान उपाध्यक्ष सोनाम लामाले भने तीब्र विरोध जनाएका छन् ।

संघका सल्लाहकारसमेत रहेका आचार्यले एकलौटी तरिकाले तोकिएको निर्वाचनको मिति मान्य नहुने बताएका छन् । मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘यो संस्था सबैको हो । हामी सबै एउटै परिवार भएर बसेकोमा सानो समूहले आफ्नो स्वार्थका लागि यसलाई प्रयोग गर्दै आएको खुलासा भइसकेको छ । सहनुको पनि एउटा सीमा हुन्छ । अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नुपर्ने वेला आएको छ । म सबै साथीलाई एकढिक्का हुन र संस्थाको हितका लागि जस्तोसुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्छु ।’ त्यस्तै, संघका उपाध्यक्ष सोनाम लामाले एकपक्षीय रूपमा गराइने चुनाव मान्य नहुने बताएका छन् ।

लामाले पनि मंगलबार फेसबुकमार्फत प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताएका छन् । यसैबीच,गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गराएका छन् । संघको १०औं महाधिवेशनका लागि सोमबारदेखि खुला गरेको उम्मेदवारी दर्ता मंगलबार पाँच बजेसम्म समय तोकिएको थियो । तर, संघभित्रको विवादका कारण उम्मेदवारीका लागि तीन दिन थपिएको समितिले जनाएको छ । शुक्रबारसम्म उम्मेदवारी दिन सकिनेछ । संघको उपाध्यक्षमा धर्मराज अधिकारी र महासचिवका लागि अमेरिकाबाट गौरीराज जोशी तथा युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.