८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

एमालेले आगामी निर्बाचनमा बिगत भन्दा बढी स्थानीय तहमा बिजय हांसिल गर्दैछ : पोखरेल



काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनमा नेकपा एमालेले गत निर्बाचनमा भन्दा बढी स्थानीय तहमा बिजय हांँसिल गर्ने तयारीका साथ अघि बढेको बताउनुभएको छ।

नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चको १२ औं सम्मेलनको उद्घाटन गर्दै राजधानीमा आयोजित एक कार्यक्रममा शनिबार सो कुरा बताउनुभएको हो।आगामी निर्बाचनमा नेकपा एमालेका स्थानीय कमिटीले टिक्ने र जित्ने उम्मेदवार छनौट गर्नुपर्ने बताउंदै पोखरेलले आपसी सहमति,सल्लाह र एकताका साथ अघि बढ्दा पार्टीले सो सफलता हांसिल गर्ने वहाँको भनाई थियो।

राष्ट्रिय राजनीति अहिले मुख्य गरि दुइ ध्रुबमा ध्रुवीकृत भएको उल्लेख गर्दै वहाँले एउटा ध्रुबमा नेकपा एमाले र अर्को ध्रुबमा पांच दलीय गठबन्धन रहेको बताउनुभयो। ‘एमाले बैचारिक रूपमा स्पष्ट, आर्थिक बिकास र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर अघि बढेको छ’पोखरेलले भन्नुभयो- गठबन्धनकारी दलहरूका बीच बैचारिक एकता छैन तर नेकपा एमाले र त्यसमा पनि अध्यक्ष केपी ओलीलाई जसरी पनि पराजित गर्ने उनीहरूको मुख्य उद्देश्य छ।’पोखरेल ले एमालेले नेतृत्व गरेको ध्रुबलाई बलियो बनाउन मन बचन र कर्मले लाग्नु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो।

निर्बाचन टार्ने ,नसके सार्ने योजनामा गठबन्धनकारी दलहरु रहेपनि त्यसमा उनीहरू असफल भएको बताउंदै वहाँले एमालेका लागि यो निर्बाचन जीवनमरणको रूपमा बताउनुभयो।यो स्थानीय तह निर्बाचनमा एमालेले ०७४ सालको भन्दा बढी स्थानीय तहमा बिजय हांसिल गर्ने बताउंदै पोखरेलले गठबन्धनमा रहेका सबै दल मिलेर आएपनि संबिधान र कानुन अनुसार समयमै तिनै तहको निर्बाचन हुनुपर्ने एमालेको धारणा रहेको स्पष्ट पार्नुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सोलुखुम्बु -काठमाडौं सम्पर्क मन्चको १२ औं सम्मेलनलाई उपलब्धीपूर्ण बनाउने हो भने सोलु एमालेका चुनौतीहरुको पहिचान गरी सम्पर्क मन्चले त्यसमै निशाना लगाएर अगाडि बढ्नुपर्ने बताउनु भयो।

सम्पर्क मन्छ बार्‍हौ सम्मेलनसम्म आइपुग्दा कतिपय राम्रा र कतिपय नराम्रा कामहरू भएको हुन सक्ने बताउंदै वहाँले राम्रा कामहरु ग्रहण गर्दै आगामी दिनमा कमजोरीहरुलाई शिक्षाका रूपमा अगाडी बढन आग्रह गर्नुभयो।

सम्पर्क मन्चका अध्यक्ष कृष्णगोपाल श्रेष्ठको अध्यक्षता सम्पन्न उद्घाटन कार्यक्रममा सम्मेलनको सफलताको कामना गर्दै नेकपा एमाले केन्द्रीय सदस्य मानबीर राईले जिल्ला र सम्पर्क बिभागसंग समन्वय गर्न सक्ने ब्यक्तिहरुको काम गर्ने महत्त्वपूर्ण फोरम सम्पर्क मन्च रहेको बताउंदै पार्टीलाई सशक्त बनाउन यसले उल्लेख्य भूमिका निर्बाह गर्न सक्ने बताउनुभयो।स्थानीय तह निर्बाचन नजिकिई रहेको अवस्थामा जिल्ला पार्टी कमिटीले अघि सारेको ‘मेरो वडा म जिताउंछु अभियान’ लाई सशक्त ढंगले अघि बढाएर जिल्लाका ५२ वटै वडामा निर्बाचनमार्फत एमालेले कब्जा जमाउनु पर्ने बताउनुभयो ।

विपक्षी दलका वडाध्यक्षहरु भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताउंदै भ्रष्टाचारमा बद्नाम ब्यक्तिहरुलाई उम्मेदवार बन्नबाट एमाले कार्यकर्ताहरुले वडाबाटै रोक्न सुझाव समेत दिनुभयो।

नेकपा एमाले प्रदेश नं १ संगठन कमिटीका सदस्य एबम् प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमारी राजभण्डारीले सम्पर्क मन्चको भूमिका प्रशंसनीय रहेको बताउंदै जिल्लाले सम्पर्क मन्चको नेतृत्वलाई न्यायोचित जिम्मेवारी प्रदान गर्दै आएको स्मरण गर्नुभएको थियो।ब्यक्ति केन्द्रित नभई एमाले केन्द्रित भएर अगाडी बढ्ने हो भने जिल्लाका आठवटै स्थानीय तहमा एमालेले बिजय हाँसिल गर्ने दावी गर्दै तल्ला कमिटीहरुले यथार्थपरक ढंगले गर्ने सिफारिसका आधारमा जिल्ला कमिटीले टिकट दिने बताउंदै उनले आवश्यकताका आधारमा स्थानीय तहमा तालमेल गरेर अघि बढ्न सकिने राजभण्डारीको भनाई थियो।

नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले सम्मेलन सफलताका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंमा रहेका जिल्ला कमिटीका सदस्यहरुलाई जिल्लामा फर्कन निर्देशन दिनुभएको थियो।

पार्टी जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकले गरेको निर्णय अनुसार ‘मेरो वडा म जिताउंछु’ लगायतका अभियान सन्चालन भइरहेको जानकारी दिंदै भूगोलमा सन्चालन भैरहेका यस्ता अभियानमा जोडिएर आगामी स्थानीय तहमा पार्टीलाई निर्बाचित गराउन सम्पर्क मन्चले भूमिका खेल्नुपर्ने बताउनुभयो।

अध्यक्ष बास्तोलाले सम्मेलनबाट निर्बाचित हुने सम्पर्क मन्चको नयाँ नेतृत्वसंग पार्टी जिल्ला कमिटी हरेक क्षेत्रमा समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

प्रदेश नं १ संगठन कमिटीका सदस्य महेश किराँतीले कस्ले के जिम्मेवारी पाउने भन्दा पनि एमालेलाई कसरी बलियो र जनप्रीय बनाउने भन्ने सवाल महत्त्वपूर्ण रहेको बताउंदै सोलु-काठमाडौ सम्पर्क मन्चले ८ वटै स्थानीय तहमा पार्टीलाई निर्बाचित गराउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने आशा व्यक्त गर्नुभयो।

नेकपा एमाले प्रदेश नं १ संगठन कमिटी सदस्य एबम् सोलुखुम्बु- काठमाडौ सम्पर्क मन्चका इन्चार्ज बच्चुनारायण श्रेष्ठले पार्टीको संगठनलाई चुस्त र बलियो बनाउन नेता र कार्यकर्ताहरुले ब्यक्तिगत महत्वकांक्षा र स्वार्थ त्यागेर अगाडी बढ्नुपर्ने बताउनुभयो।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : २५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.