२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

वार्तामार्फत शान्ति स्थापना गर्न रुस र युक्रेनलाई नेपालको आग्रह



काठमाडौँ । नेपालले रुस र युक्रेनलाई वार्तामाफर्त शान्ति स्थापना गर्न आग्रह गरेको छ । हिंसाले थप हिंसा निम्त्याउने उल्लेख गर्दै नेपालले शान्ति स्थापनाका लागि अर्को विकल्प नभएको बताएको छ ।

मंगलबार संयुक्त राष्ट्र संघको महासभाको आपत्कालीन सत्रलाई सम्बोधन गर्दै राष्ट्र संघका लागि नेपालका राजदूत अमृत राईले कुनै पनि सार्वभौम मुलुकको क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताका विरुद्धमा बल प्रयोगको विरोध गर्ने कुरामा अडिग रहेको जनाएका हुन् ।
‘शान्तिको बाटोमा फर्किने कुरामा कहिल्यै ढिला भन्ने कुरा हुँदैन । हामी रुस र युक्रेनलाई वार्तामार्फत नै शान्ति स्थापनाका लागि आग्रह गर्छौँ,’ राजदूत राईले भने । उनले रुस र युक्रेनलाई शान्तिपूर्ण वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान निकाल्न पनि आग्रह गरेका छन् । रुस र युक्रेनबीच वार्ता सुरु हुनु सकारात्मक भएको पनि नेपालको उल्लेख गरेको छ ।

राजदूत राईले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको मातहतमा रहेर सबै नागरिक र उनीहरूको सम्पत्तिको रक्षा हुनुपर्नेमा पनि जोड दिए । त्यस्तै युक्रेनमा रहेका नेपाली नागरिकको सुरक्षाका बारेमा नेपाल चिन्तित रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्न पनि सबै सरोकारवालालाई राजदूत राईले आग्रह गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : ०२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.