५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आज महाशिबरात्री : देशभरका शिबालयहरुमा भक्तजनको घुँइचो



काठमाडौं।

आज महाशिवरात्रि।काठमाडौंको पशुपतिनाथ,भक्तपुरको डोलेश्वर र पूर्बको हलेंसी लगायत सम्पूर्ण शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो । शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ ।

महाशिवरात्रिका कारण भक्तजनहरुको घुंइचोले राजधानीको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बनेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले ट्राफिक व्यवस्थापनको प्रवन्ध गरेको छ। महाशाखाले मंगलबार पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापनका लागि आवश्यक योजना बनाएको छ। महाशाखाले पशुपति क्षेत्रमा भक्तजनको आवतजावतमा सहजीकरणका लागि कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरेको छ। भक्तजनका लागि सिफल,गुह्येश्वरी पारी, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ।

भीड व्यवस्थापनका लागि आवश्यकताअनुसार थप डाइभर्सन गर्ने महाशाखाले जनाएको छ। यसैबीच,गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारेसमेत उनले जानकारी लिएका थिए । पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : १३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.