६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य, तीनवटा गाडी तोडफोड



काठमाडौं।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्युन देखिएको छ।

काठमाडौंका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल देखिएको छ । बजार तथा पसलहरु खुलेका छन्।सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको प्रहरीले बताएको छ। काठमाडौंका मुख्य सडक तथा चोकहरुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ।

एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आजका लागि नेपाल बन्दको आह्वान गरेका हुन्। मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको अर्को नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका साना कम्युनिष्ट घटकले आज बन्द गराएका हुन ।

यसैबीच बन्द गराउँदै हिँडेका आधा दर्जन बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौंका विभिन्न विभिन्न ठाउँबाट ती बन्दकर्ताहरु पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । परिसरका अनुसार बन्दकर्ताले सुकेधारामा एउटा दूधको गाडी तोडफोड गरेका छन्। त्यस्तै चाबहिल र कलंकीमा ३ वटा बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.