काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजबादीका अध्यक्षसहित अन्य केहि नेताहरु अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधिसभा बैठकबाट पारित गर्ने कसरतमा जुटेपनि उनीहरूलाई संस्थागत निर्णय गराउन भने हम्मे पर्ने देखिएको छ।
सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट अध्यक्ष दाहाल र नेपाल आतंकित भएर एमसीसी पास गर्ने आन्तरिक तयारीमा जुटेपनि यथास्थितिमा यसलाई पारित गर्नु नहुनेमा अन्य नेताहरुको अडान यथावत नै छ।यद्यपि यी दुवैले एमसीसी अनुमोदनका लागि पार्टीबाट निर्णय गराउन बैठक डाकेका छन् ।
प्रचण्डले खुमलटारमा माओवादीका प्रभावशाली नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । उनले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै वाध्यात्मक परिस्थितिमा संकल्प प्रस्ताव पारित गर्ने गरी एमसीसी अनुमोदनको निर्णय गराउने बुझिएको छ । तर, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरु एमसीसी कुनै हालतमा अनुमोदन नगर्ने पक्षमा उभिएका छन् । नेकपा एसको बैठक पनि एमसीसी अनुमोदनको विषयमै केन्द्रित हुने बताइएको छ । सो पार्टीका पनि झलनाथ खनालसहितका नेताहरु एमसीसीको बिरोधमा खुलेरै लागेका छन् । नेपाल समूह एमसीसी पारित गर्न बढेमा नेकपा एसबाट विद्रोह गर्ने सम्भावना छ ।