१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

संसद बैठक आज बस्दै, एमसीसीमाथि छलफलको कार्यसूची



काठमाडौं । लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आजका लागि बोलाईएको छ। अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे पछि बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसपछि एमसीसीबारे सदनमा सैद्धान्तिक छलफल शुरू हुनेछ ।

सैद्धान्तिक छलफलका क्रममा बोल्न चाहने सांसदलाई ३ मिनेटको समय दिने सहमति कार्यव्यवस्था परामर्श समितिमा भएको छ । विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएमा दफावार छलफलका क्रममा दलीय आधारमा सांसदहरूलाई लामो समय बोल्न दिइने छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ४० बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.