अनुज खड्का
नेतृत्व सबल भयो भने जुनसुकै क्षेत्रमा सकारात्मक परिणाम देख्न सकिन्छ । नेतृत्वका सवालमा एउटा उद्दरण छ “स्यालको नेतृत्वमा रहेको बाघको बथानलाई, बाघले नेतृत्व गरिरहेको बाख्राको झुण्डले सजिलै हराइदिन्छ/ पाखा लगाईदिन्छ । यो केवल सबल नेतृत्वलाई अथ्र्याउने एउटा उद्दरण मात्र हो । हुन पनि सबैथोक कमजोर भएता पनि केही फरक पर्दैन, यदि नेतृत्व सबल र सक्षम छ भने । ती कमजोर कुराहरूलाई सक्षम नेतृत्वकर्ताले सजिलै शक्तीका रुपमा आर्जन वा परिचालन गर्न सक्छ ।
आज हामी सोलुखुम्बुका ७ स्थानिय तहका ७ प्रमुख नेतृत्वका सवालमा चर्चा गर्दैछौ । सोलुखुम्बुमा ८ वटा स्थानिय तह छ । तर हामी यहाँ ७ स्थानिय तहको मात्र चर्चा गर्न खोजिरहेका छौ । किनभने खुम्बु पासाङलम्हु गाउँपालिकाका प्रमुख ङिमदोर्जी शेर्पा आज हामी माझ रहेनन । त्यसैले प्रत्यक्ष निर्वाचित ७ स्थानिय तहका प्रमुखहरूको सबल पक्षका बारेमा मात्र हामी चर्चा गर्दैछौ ।
ब्यक्तीभित्र असल गुण/ खराब गुण दुबै निहित हुन्छ । यसमा कसैमाथी कुनै शङ्का छैन । तर सकारात्मक दृष्टिकोणबाट अध्ययन गर्ने हो भने हरेक सामाजिक ब्यक्तिले आफूभित्रको नकारात्मक गुणलाई पराजित गरेर नै लोकप्रीय स्थान हासिल गरेको हुन्छ । उसको पहिलो लडाई भनेकै आफ्ना नकारात्मकतालाई पराजित गर्नु हो । त्यसपछि मात्रै उक्त ब्यक्तीले सामाजिक हैसियत प्राप्त गर्न सक्छ ।
ब्यक्तिगत जिन्दगीमा सबैको आ-आफ्नै समस्या हुन्छ । त्यसका बाबजुद पनि सामाजिक जीवनमा सकृय रहेका ब्यक्तिहरूको मुल्यांकन बर्तमानमा कसैले गरिरहेको हुदैन । जीवित रहदासम्म सामाजिक जीवन बाचिरहेका मानिसहरूले सत्तो-सराप मात्रै पाउने गरेका छन । किनभने सामाजको अपेक्षा नै अत्यन्तै महत्वाकांक्षी हुन्छ त्यस्ता ब्यक्तिहरू माथी । जसले गर्दा उनिहरूले जति नै राम्रो काम गरिरहेको किन नहोस, मान्छेले उनिहरूको स-सानो कमजोरीको खोजी गर्छन र त्यसैका माध्यमले तीनलाई खुल्याईरहेका हुन्छन ।
हामी त्यो समाजमा बस्छौ जहा आफूले केही गर्न नसकेको झोक त्यो ब्यक्तीको आलोचनामा निकाल्छौ जसले समाजमा केही गरिरहेका छन । उनिहरूलाई धार हात लगाएर आफ्नो असक्षमतालाई प्रदर्शन गरिरहेका हुन्छौ हामी । तर जब उनिहरू संसारमै रहदैनन तब मात्र उनका असल गुणहरूको बेलिबिस्तार लगाएर कहिल्यै थाक्दैन मान्छे । यो हाम्रो सामाजिक मनोबृती हो । त्यसैले अबको हाम्रो सामाजिक चेतना परिवर्तन गर्न जरुरी छ । त्यही कारण सकारात्मक दृष्टिकोणबाट सोलुखुम्बुका ७ स्थानिय तहको ७ नेतृत्वका सवालमा मात्र यो विश्लेषण प्रस्तुत गर्दैछौ ।
नाम्गेल जाङ्बु शेर्पा: सोलुखुम्बुको एउटै मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख हुन- नाम्गेल जाङ्वु शेर्पा । जिल्लामा सबै प्रमुख नेतृत्वमा कम्युनिष्ट पार्टिको दबदबा रहदा उनी एक्ला ब्यक्ती हुन जसले नेपाली काङ्ग्रेसबाट प्रत्यक्ष मत पाएर चुनाब जिते । राजनितिक रुपमा आफ्नै पार्टिभित्रको एउटा ठुलै जत्थाको असयोग र देशब्यापी कम्युनिष्टको उभार उठिरहेको समयमा नेपाली काङ्ग्रेसबाट एक्लैले प्रमुख नेतृत्वमा चुनाव जित्न त्यत्ती सजिलो थिएन/ जति हामी सोचिरहेका छौ ।
नेपाली काङ्ग्रेसभित्र एकदमै निष्कलङ्क नेता हुन उनी । उनको बिवादरहित छबिका कारण नै चुनाबमा उनलाई बल पुगेको हो । सुरुमा एन.जि.ओ/ आई.एन.जि.ओ मार्फत उच्च हिमाली क्षेत्रका बिभिन्न समस्या उपर काम गर्दै आएका शेर्पा एकाएक संघियता पश्चात स्थानिय तहको नेतृत्वमा आईपुगे । त्यसपछी उनले आफ्नो बिगतका अनुभव र बर्तमानको चुनौतीलाई आफ्नो खुबीका रुपमा प्रस्तुत गरे ।
जिल्लामा अन्य सबै स्थानिय तह, संघ र प्रदेशमा बिपक्षी पार्टिको पकड हुदा स्थानिय तहमा काम गर्न स्वभाबैले केही अप्ठ्यारो हुन्छ नै । त्यसका बाबजुद पनि उनले हिम्मतका साथ काम गरे ।
सुरुसुरुमा समन्वय र सहकार्यमा काम गर्ने प्रण गरेका शेर्पा बिस्तारै बद्लिदै गए । किनभने अन्य दलका नेताहरूले आफूलाई एक्ल्याउन खोजेको महसुस गरे सायद उनले । त्यसपछी उनी बहिस्कार नितिमा उत्रीए । केही कार्यक्रमहरूमा अन्य दलका नेताहरूसङ्गै उपस्थिती जनाउने गरेका शेर्पाले एकाएक अन्य नेता उपस्थित कार्यक्रममा भरसक नजाने प्रयत्न गर्न थाले । यसको एउटा कारण के हो भने अन्य दलका नेताले पनि एक्ला मेयरलाई सार्वजनिक मंचबाटै पटक-पटक उनको हुर्मत लिने काममा कुनै कसर बाकी राखेनन । एकजना मेयरलाई अन्य सबै बक्ताले ताकीताकी शब्दावली प्रहार गर्दा उनी एक्लैले त्यसलाई प्रतिरक्षा गर्न सम्भब थिएन । कतिपटक त उनी अन्य नेतासङ्ग जुहारी खेल्न पनि तम्सिए । तर पछि उनले बुझे क्यारे- यी सब बेकार हुन । बरु त्यस्तो कार्यक्रममा जादै नगए ढुक्कै भन्ने लाग्यो होला उनलाई ।
त्यसपछी उनले त्यस्ता आलोचनाहरूमा ध्यानै दिन छोडे । कतिसम्म भने उनको बिरोधमा लेख्ने संचार माध्यमलाई पनि उति चासो दिएनन उनले । तर यसका बाबजुद आफ्नो काममा भने उनले केही कन्जुस्याई गरेनन । संघ र प्रदेशका निर्बाचित सांसदहरूसङ्ग प्रत्यक्ष समन्वय टुटेपछी उनले एउटा जुक्ती निकाले- त्यो हो सामाजिक संघसस्थासङ्गको साझेदारी । जसका माध्यबाट उनले आफ्नो नगरक्षेत्रभित्र थुप्रै काम गरेका छन/ गरिरहेकाछन ।

असिम राई: जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख हुन असिम राई । यदि कसैले ७५३ वटै स्थानिय तह मध्यमा सबैभन्दा उर्जावान नेतृत्वको खोजिगर्यो भने सबैभन्दा पहिला आउने नाम हो यो । युवा जोश, शिक्षित ब्यक्ती, सकारात्मकताका प्रतीक र उदेश्यमा उडान बोकेका नेतृत्व हुन उनी । उनले काम गर्ने स्प्रीट देखेर नै मान्छे चकित हुन्छन ।
उनको ब्यक्तित्वको छवि यतिधेरै प्राभावशाली छ कि यदि कसैले उनको बिरोध गर्छ भने केवल उनको पछाडी मात्र । जब उनको अगाडि पुग्छ तब त्यो मानिसले उनको आलोचना गर्ने शब्द नै फेला पार्दैन ।
असिम राईलाई गलत भन्ने ब्यक्ती त्यो ठहरिन्छ- जसले उनलाई र उनले गरेका कामलाई सतहमा मात्र बुझेको छ । दीर्घकालीन लक्ष्य र उदेश्य सहित प्रभावकारी योजना निर्माण गर्न सक्ने र निर्णय दिनसक्ने उनको खुबीले नै उनलाई देशभरका सबै स्थानिय तहका प्रमुख भन्दा भिन्दै बनाईदिएको छ । उनले गरेका कतिपय निर्णयहरू ७५३ वटै स्थानिय तहको निम्ति नजिर बन्ने गरेका छन ।
स्थानिय तहलाई जनताको घरदैलोको सरकार ठान्ने राई सबै क्षेत्र, बर्ग, समुदाय र ब्यक्तिलाई प्रवाभित पार्न सक्षम ब्यक्ती हुन । हुन त उनले गरेका कतिपय कामहरूको सन्दर्भमा बाहिर-बाहिर आलोचना गर्नेहरू पनि नभएका हैनन । यथेष्ट छन । तर माथी नै उल्लेख गरिसकिएको छ कि उनको अगाडि पुगेपछी त्यो मानिसले बोल्ने शब्द नै फेला पार्दैन ।
बच्चा देखि बुढासम्मलाई उनको छबिले आकर्षित गर्दछ । यो उनको कुशल राजनितीक गुण हो । राजनितिक रुपमा उनिसङ्ग मतभेद राख्नेहरू थुप्रै होलान/ तर सामाजिक रुपमा उनले गरेका कतिपय कार्यहरू भने ईतिहास बदल्ने किसिमका छन । तीनको मुल्यांकन कुनैदिन पक्कै हुनेछ । प्राबिधिक शिक्षालय, ५० शैयाको सामुदायिक अस्पताल, कृषिमा ५ वटा “क” को अबधारणा, खेलकुद हब र संस्कृतिक संरक्षणमा उनको नेतृत्वमा जति काम भएका छन- यसले पुस्तौपुस्तालाई सहजता प्रदान गर्ने छ ।

डुफकुमार बास्तोला: सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाका प्रमुख हुन डुफकुमार बास्तोला । स्वभाबले सरल, ब्यबहारले नरम अनि अनुभवले परिपक्क नेतृत्वमा गनिन्छन उनी । उनको राजनितिक जीवनको उतारचढाब र अनुभवका फेहरिस्तले नै उनको सामाजिक जीवनको छबिलाई प्रज्वलित गरिरहेको छ ।
नेकापा एमालेमा पार्टी नेतृत्व तहमा लामो समय काम गरिसकेका बास्तोलाले अहिले नेचासल्यान गाउँपालिकाको नेतृत्व गरिरहेका छन ।
नेचासल्यान गाउँपालिका जिल्लाको त्यस्तो क्षेत्र हो जहा अनिगिन्ती सम्भावना र चुनौतीहरू छन । जिल्लाको सबैभन्दा धेरै साक्षर जनसंख्या, शिक्षित जनसमुदाय र राजनितिको प्रमुख केन्द्र(२ पुर्व सभासद र १ संघिय सांसद यहि पालिकाका हुन- बलबहादुर के.सी, भूपाल किराँती र अहिलेका हेमकुमार राई सुरबिर ) यहि स्थानित तह अन्तरगत हुन । यस्तो क्षेत्रमा नेतृत्व गर्ने ब्यक्ती पक्कैपनी सक्षम हुन अत्यावश्यक छ । तर नेचाली भूगोललाई सुहाउदो नेता बनेर उदाएका हुन डुफकुमार बास्तोला । उनले कयौ असहजताको बिचमा रहेर पनि समग्र गाउँपालिकाको हितमा आफ्नो बलबुताले भ्याएसम्मका काम गरिरहेका छन । यस क्षेत्रमा राजनिती गर्ने ब्यक्तिले सबैलाई मिलाएर लैजान त्यत्ती सहज छैन । तर बास्तोलाले हालसम्म त्यसमा आफू कहिँकतै नचुक्ने गरि काम गरिरहेका हुन ।
जहाँ धेरै सम्भावना छ, त्यहा धेरै अपेक्षा पनि हुन्छ, जहाँ धेरै अपेक्षा हुन्छ त्यहाको आवश्यकता पनि ठूलो हुन्छ । यसकारण कतिपय राम्रा कामहरूपनि ओझेलिन्छन, ज्यादा अपेक्षा र महत्वाकांक्षाले गर्दा । किनभने अपेक्षा र आवश्यकता असिमित भएपनी राज्यका स्रोतसाधनहरू सिमित हुन्छन । त्यही सिमित स्रोतसाधनले ज्यादा महत्वाकांक्षालाई सम्बोधन गर्न असम्भवप्राय हुन्छ । यस्तोमा नेतृत्वकर्तामा सबैलाई समान बितरण र सम्वोधनको खुबी नहुने हो भने त्यहा कुनै काम हुन सक्दैन/ केही परिणाम दिन सकिँदैन । त्यसैले डुफकुमार बास्तोला उक्त क्षेत्रको भूगोल सुहादो नेताका रुपमा हामीले लिएका छौ, जसले सवैको अपेक्षालाई प्रभावकारी ढंगले सम्बोधन गरिरहेका छन ।

डम्बर बहादुर बस्नेत : लिखुपिके गाउँपालिका सोलुखुम्बुका अध्यक्ष हुन डम्बर बहादुर बस्नेत । स्पष्टबक्ता, ठाडो स्वभाव तर शालिन ब्यक्तित्व उनको छबि हो । कतिपयले उनको सैद्धान्तिक अध्ययनको बिषयलाई लिएर उनको आलोचना गरिरहेको पाईन्छ । तर उनले गरेका कामको बारेमा प्रश्न उठाउने ठाउँ भने पाईदैन । उनी ठाडो स्वभाबका छन । हुन्छ भने हुन्छ/ हुन्न भने हुन्न भन्ने निर्णय क्षमताका हुन उनी । यस र नो मा डिसिजन गर्ने उनको स्वभाव कतिलाई मन नपर्न सक्छ । तर यो उनको स्पष्ट छबिको प्रमाण पनि हो । मनमा पाप नभएको र मुखमा धर्म नभएको मान्छे हुन उनी । उनी मुखले कसैलाई मख्ख बनाउन जान्दैनन । तर मनले कसैको कुभलो चाहदैनन । उनले आफ्नो निजि जीवनमा पनि निक्कै कष्ट सहेर आएका छन । त्यसकारण उनको पहिलो शर्त नै उत्पिडनमा परेका, समाजमा निम्न बर्गमा परेका वा पारिएका मानिसहरूको उत्थान हो । दु:खी, गरिब र ईमान्दार मानिस माथी कहिल्यै अन्याय हुन दिदैनन उनी । उनलाई न्यायका ठेलीहरूको ज्ञात कम नै छ । तर पनि सोझो न्याय गर्न उनी चुक्दैनन । उनको नेतृत्वमा लिखुपिके गाउँपालिकाभित्र धेरै सकारात्मक काम भएका छन/ हुदैछन ।

सागर किराँती: महाकुलुङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष हुन सागर किराँती । नेकपा माओवादीका अत्यन्तै शालिन र भद्र नेता । उनको जीवनशैली अत्यन्तै सरल छ । उनी सादा जीवन बाच्छन तर उच्च बिचार बोक्ने नेता हुन ।
चुनाब जितेपछी सबै स्थानिय तहका प्रमुखहरूले गाउँपालिकाको नाममा आवश्यकता अनुसार सवारी खरिद गरे । तर उनले एउटा मोटरसाइकलको भरमा आफ्नो कार्यकाल गुजारिरहेका छन । त्यो मोटरसाईकललाई पनि उनी अतिशय माया गर्छन/ जतन गर्छन । भन्छन “मैले चढेको यो मोटरसाईकल, भाबि नेतृत्वले चढ्दा पनि नया मोटरसाईकल चढेकै भान होस । जस्तो लिएको थिए, कन्डिशनका हिसाबले त्यस्तै बुझाउन मन छ मलाई ।”
अहिले पनि उनी भाडाको घरमा बसेर कार्यालय आउने जाने गर्छन । उनमा दिर्घकालिन सोच छ । पछीसम्मको लागि सोच्छन उनी । कम बोल्ने, आफ्नो काम निरन्तर गरिरहने नै उनको स्वभाव छ । निर्वाचित भएको लामो समयसम्म उनी गुमनाम जस्तो थिए । स्थानिय संचार माध्यममा उनको बारेमा थोरै मात्र सामाग्रीहरू सार्वजनिक हुन्थे । एक त भौगोलिक जटिलताले गर्दा उनको क्षेत्रको आम संचारमा व्यापक असुबिधा थियो । त्यसैमाथी कम बोल्न रुचाउने किराँतीको स्वभाबले गर्दा निक्कै लामो समय चर्चामा आएनन उनी । तर उनको बारेमा तबमात्र मानिसले वा संचार माध्यमले खोज्न थाल्यो- जब उनले महाकुलुङको प्राथमिक स्वास्थ्य केन्द्रलाइ प्रदेशस्तरिय(सुबिधाका हिसाबले) अस्पतालका रुपमा बिकास गरिदिए । त्यसपछी उनले गरेका ऐतिहासिक महत्व बोक्ने कामहरू एक-एक गर्दै चर्चामा आउन सुरु भयो । जसमध्य महाकुलुङ चक्रपथ पनि एक हो । उनले गाउँपालिकालाई पर्यटकिय क्षेत्रबाट प्रबर्धन र बिकास गर्नको लागि महाकुलुङ फुटट्रेल र चक्रपथको योजना अगाडि सारेका हुन । यसले भबिष्यमा महाकुलुङको समग्र बिकास निर्माणमा प्रत्यक्ष प्रभाव पार्नेछ/ फाईदा दिने छ ।

बुद्धिकिरण राई: विभिन्न सामाजिक संघसस्थाको सफल नेतृत्वकर्ता बुद्धिकिरण राई माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष हुन । शिक्षण पेशा उनको राजनितिको जग हो । उनि एक असल लिडर हुदाहुदैपनी सोलुखुम्बुका स्थानिय तहको हकमा सबैभन्दा धेरै मुद्दा खेप्ने अध्यक्ष हुन । त्यसका बाबजुद उनी एक सफल नेतृत्वकर्ता मानिन्छन ।
खुम्बु पासाङलम्हु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको साझेदारीमा नेपालकै पहिलो मोतेरी पुलका डिजाईनर हुन उनी । जसमा खुम्बु पासाङलम्हु गाउँपालिकाका स्वर्गीय अध्यक्ष ङिमदोर्जी शेर्पा पनि साझेदार थिए । उक्त पुल निर्माण सम्पन्न हुनु एउटा ऐतिहासिक क्षण थियो । तर सो पुलको उद्घाटनमा अनावश्यक धेरै खर्च गरिएको भन्दै बुद्धिकिरण राईको आलोचना हुने गरेको छ ।
तर जुन अवधीभित्र त्यो पुल सम्पन्न भयो त्यो नै सबैभन्दा ठूलो सफलता हो । त्यो मितेरी पुलले बिश्वलाई सिधै सडक संजालले सगरमाथासम्म जोड्ने काम गरेको छ । यो सानोतिनो उपलब्धी थिएन/हैन । यसको प्रभावकारिताका बारेमा हामी सबै जानकार नै छौ । त्यसैले यसका बारेमा सुनिएका यावत हल्लाखल्लाहरूलाई त्यतिधेरै महत्व नदिईकन गाउँपालिकाको बिकासमा समर्पित छन उनी ।
सानो स्वरमा मीठो र सत्य बोल्ने राईको स्वभाव हो । उनले आफ्नो गाउँपालिका क्षेत्रको पुरातात्त्विक संस्कृती संरक्षणमा विशेष भूमिका निर्वाह गरेका छन । उनी आफै शिक्षण पेशाबाट आएकाले पनि शिक्षामा धेरै सुधार गर्न उनको नेतृत्व फलदायी देखिएको छ । यो पनि भबिष्यले नै मुल्यांकन गर्ने छ ।

वीरबहादुर राई: सोताङ गाउँपालिकाका अध्यक्ष हुन वीरबहादुर राई । उनको बिषयमा धेरै कुरा ज्ञात छैन । किनभने उनी अत्यन्तै अन्तरमूखी स्वभावका ब्यक्ती हुन । तरपनी उनले आफ्नो क्षेत्रमा केही उदाहरणिय काम गरेका छन । सुरुमा दुधकोशी नै सोताङ र महाकुलुङको प्रमुख समस्या थियो । यो समस्यालाई यी दुवै गाउँपालिकाले प्रदेशसङ्ग समन्वय गरेर अन्त्य गरेपछि कोशी पारीका सबैले राहत महसुस गरे ।
वीरकुमार राईको नेतृत्वमा सोताङ गाउँपालिकामा भएका केही कामको भने सामाजिक संजालमा व्यापक आलोचना हुने गरेको छ । सायद उनिसङ्गको कम्युनिकेशन ग्याबले पनि यस्तो भएको हो । जे होस- उनको कार्यकालमा धेरै राम्रा काम पनि भएका छन । यो भन्दा धेरै उनको बारेमा अन्य जानकारी छैन ।

यी ७ स्थानिय तहका प्रमुखहरूको सन्दर्भमा हामीले आफूलाई लागेको विश्लेषण गरेका हौ । यसमा पाठक सहमत/ असहमत हुन स्वतन्त्र छन । यहाँ जतिजनाको बारेमा चर्चा गरियो उनिहरूलाई सफल बनाउने कर्मचारी, जनप्रतिनिधि र स्थानियको समेत प्रत्यक्ष भूमिका रहेको सत्यलाई हामीले स्विकार गरेका छौ । तर यहाँ प्रमुख नेतृत्वको मात्र चर्चा गरिएको हो ।