१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सोलुखुम्बुमा दुरसंचारको दुरावस्था, टावर छ नेटवर्क छैन



अनुज खड्का
जेष्ठ १३, सोलुखुम्बु

नेपाल टेलिकमको गुणस्तरहिन सेवाका कारण सोलुखुम्बु जिल्लाको दुरसंचारमा गम्भीर असर परिरहेको छ । टेलिकमद्वारा प्रवाहित नेटवर्क सेवा गुणस्तरीय नहुदा आपतकालिन संचार सुबिधामा नराम्रो असर परेको हो ।

जिल्लामा पर्याप्त मात्रामा टावर रहेको भएपनी तिनको नेटवर्क क्षमता भने अत्यन्तै न्यून हुदा समस्या आएको हो । हाल जिल्लामा करिब २९ वटा रिपिटर टावर रहेका छन । जसमध्य कति त बिग्रीएको अवस्थामा छन भने कति चाहिँ पावर ब्याकपको समस्याका कारण त्यसै थन्किएका छन । जसले गर्दा जिल्लाको दुरसंचार नेटवर्क अत्यन्तै दुरावस्थामा रहेको छ ।

कोशी पारी रहेको सोताङ र महाकुलुङका अधिकांश भू-भाग, थुलुङ दुधकोशी गाउँपालिकाको केही भू-भाग, सदरमुकाममा अवस्थित सोलुदुधकुण्ड नगरपालिकाकै कतिपय वडामा नेटवर्क नै नआउने समस्या रहेको छ । नेटवर्क उपलब्ध हुने कतिपय क्षेत्रमा पनि आवाज स्पष्ट नबुझिने समस्याका कारण उपभोक्ताहरू दिक्क भएका हुन । त्यस्तै खुम्बु पासाङलम्हु गाउँपालिका, माप्य दुधकोशी गाउपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा समेत गुणस्तरहीन नेटवर्कले समस्या दिने गरेको त्यहाका स्थानियहरूले गुनासो गरेका छन ।

भ्वाईसकलको समेत राम्रो सुबिधा दिन नसकेको टेलिकम भने 4G को नाटक मन्चन गर्नमा ब्यस्त रहेको छ । अहिले ठाउँ-ठाउँमा 4G को उपकरण जडान गरेर ईन्टरनेट सेवा दिन टेकिकम कस्सिएको हो । तर उपभोक्ताहरू भने पहिले भ्वाईसकल सेवालाई चुस्तदुरुस्त बनाउन माग गरिरहेका छन ।

कतिपय 2G को टावरमा 4G को उपकरण जडान गरी कमसल ईन्टरनेट सेवा प्रदान गरेर उपभोक्ताको ढाड सेक्न टेलिकमले कुनै कसर बाकी राखेको छैन । तर टेलिकमको भ्वाईसकल सेवा नै सबैभन्दा गुणस्तरहीन रहेको छ ।

जिल्लामा अप्टिकल फाईबरको काम पनि नभएको हैन । तर उक्त काम “आकाशको फल आँखा तरी मर” भने जस्तै भएको छ । त्यो कहिलेसम्म सम्पन्न हुन्छ त्यसको कुनै अत्तोपत्तो छैन ।

अहिले टेलिकममा करिब ६ जना कर्मचारीले जागिर खाईरहेका छन । तर राज्यकोषबाट उनिहरूको तलबमा गरिएको खर्च भने सेवाको आधारमा ब्यर्थ जस्तै भएको छ ।

बर्षौदेखी एउटै समस्या झेल्न उपभोक्ता बाध्य हुदा समेत टेलिकमका कर्मचारीले नेटवर्क सुधारमा माखो मार्न सकेका छैनन । कयौ पटक त उपभोक्ताले टेलिकममा ताल्चा समेत लगाईदिएका छन । तर बिवाद आउँछ, कर्मचारी सरुवा हुन्छन- नेटवर्कको अवस्था भने “रातभरी रुङ्ग्यो, बुढी त जिउदै” भनेजस्तै भएको छ ।

यदि कसैले टेलिकममा गएर यस बिषयमा गुनासो गरेमा कर्मचारीहरू सजिलै भनिदिन्छन यो हाम्रो समस्या हैन/ माथीबाट नै यस्तै समस्या छ । उनिहरूले यसरी सजिलै उम्कन पाउने छुट छैन । किनभने समस्या जसको वा जताको भएपनी मारमा त सोलुखुम्बुका उपभोक्ताहरू नै परिरहेकाछन । यस जिल्लाको कार्यालयमा जागिर खाएपछी यहाँका उपभोक्तालाई गुणस्तरीय सेवा दिने दायित्व यहीँका कर्मचारीको हो । तर यो नेपाल हो, यहाँ आफ्नो जिम्मेवारी बहन गर्ने छिटफुट पात्र मात्र भेटिन्छन । र दुर्भाग्य ! ती छिटफुट पात्र मध्य नेपाल टेलिकम सोलुखुम्बुका कर्मचारीहरू भने पर्दैनन ।

कतिसम्म भने सल्लेरी बजारमा टेलिफोन सेवा बितरण गर्न टागिएका तार समेत ब्यबस्थित गर्न टेलिकमका कर्मचारीले तदारुकता देखाउदैनन । जसले खर्दा बजारको सौन्दर्य मात्र ह्रास भएको छैन, कर्मचारीको अकर्मण्यतालाई समेत दर्शाईरहेको छ । टेलिकमको यस्तो हरिबिजोग हुदा समेत हाकिम भने कहिले फिल्डको बाहानामा त कहिले अन्य बाहानामा कार्यालयमा भेटिदैनन । सुचना अधिकारीसङ्ग कार्यालयको कामकाज बारे कुनै सुचना उपलब्ध छैन । सरकारी काम कहिले जाला घाम भन्ने उखान ठ्यक्कै मेल खान्छ नेपाल टेलिकम सोलुखुम्बुका कर्मचारीहरूको कार्यशैली प्रती ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १० : ३४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.