सरोज राई
बैशाख २२, सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको भूगोलभित्र पर्ने देउसा रोक्ती देखि दिप्लीघाटसम्मको सडक जिर्ण बन्दा कोशी पारीका स्थानियको यात्रा कष्टकर बनेको छ । हिउँदमा समेत सवारी संचालनमा निक्कै सकस रहेको उक्त सडकमा बर्खामा त झनै सास्ती हुने गरेको छ ।
सडक मर्मत हुन नसक्दा दिप्लिघाटमा बन्नुपर्ने मोटरेबल पुलको काम समेत हुन सकेको छैन भने दैनिक यात्रा गर्न पनि निक्कै सकस रहेको छ । एक त भिरालो जमिन माथी बनेको ग्रामिण सडक त्यसैमाथी मर्मत संभार नहुदा सवारी गुड्नै समस्या रहेको हो ।
यात्रुहरू धेरै पटक यो सडकमा अलपत्र परिसकेका छन । ठाउँ-ठाउँमा बाटो भत्किएकाले ओर्लदै सवारी धकेल्दै भएपनी यात्रा गर्न कोशीपारीका स्थानियहरू बाध्य भएका छन । यस्तो हुदापनी सडक मर्मतमा सरोकारवाला निकायले कुनै चासो देखाएको छैन । त्यसैले निक्कै कष्टका साथ जोखिमपुर्ण यात्रा गर्न यात्रुहरू बाध्य रहेकाछन ।