अनुज खड्का
बैशाख २२, सोलुखुम्बु
प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहिले सोलुखुम्बुमा हालसम्म पनि कोरोना संक्रमण नियन्त्रणमै रहेको बताउनुभएको छ । भूमे संचारसंग कुरा गर्दै शाहिले केहि ब्यक्तिमा संक्रमण पुष्टि भएको भएपनि अवस्था नियन्त्रणमा रहेको बताउनुभएको हो । अन्य जिल्लामा जस्तो भयावह स्थिति सोलुखुम्बुमा नभएको प्रमुख जिल्ला अधिकारी शाहिको भनाई छ । यसलाई नियन्त्रणमै राखिरहनका लागि नागरिक स्वयम पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
हालसम्म सोलुखुम्बुमा जम्मा १३ जना संक्रमण देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकामा ४ र लिखुपिके गाउपालिकामा ९ जनामा संक्रमण पुष्टि भएको हो । तथापी पनि लिखुपिके गाउपालिकामा देखिएको संक्रमणलाई सरकारी मान्यता भने नदीइएको बताईएको छ । लिखुहाईड्रोमा काम गर्ने मजदुरमा देखिएको संक्रमण आयोजनाले नै गरेको पिसिआर परिक्षणमा मात्र देखिएको हो । उनिहरूले गर्ने पिसिआर परिक्षण सरकारी मापदण्ड अनुसारको नभएको प्रशासनको भनाई छ । तरपनि महामारीको यो भयानक स्थितिमा कुनैपनि कुरामा नजरअन्दाज गर्न नसकिने भन्दै शाहिले उनीहरूलाई पनि उच्च सतर्कताका साथ क्वारिनटिनमा राखिएको बताउनुभएको हो ।
जिल्लामा हालसम्म देखिएको संक्रमितलाई राज्यको उच्च सतर्कतामा राखिएकाले बाहिरबाट आउने मानिसमा रोक लगाउदा मात्र पनि संक्रमणलाई फैलनबाट रोक्न सकिने प्रमुख जिल्ला अधिकारी शाहिले स्पष्ट पार्नुभयो । उहाँका अनुसार जिल्लाभित्र निशेधाज्ञा नलाग्ने भएपनि बाहिरी जिल्लाबाट सोलुखुम्बु भित्रिने नाकामा भने कडाई गरिएको छ । जसका कारण थप संक्रमित नदेखिने प्रशासनको बिस्वास छ ।
अहिले जिल्लामा संक्रमणको लक्षण देखा परेकाहरूलाई सरकारी तवरबाट निशुल्क एन्टिजोन परिक्षण गरिएको छ । एन्टिजोन परिक्षणले मात्र संक्रमण नदेखिएको तर लक्षण भने देखाईरहेको ब्यक्तीको पिसिआर परिक्षण पनि गरिराखिएको शाहि बताउनुहुन्छ ।
महामारीको यो असहज अवस्थामा पनि जिल्लाभित्र संचालित राष्ट्रिय गौरवका आयोजनाहरूमा भने उच्च सतर्कताका साथ काम भईरहेको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले निरन्तर समन्वय गरिरहेको शाहिको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले महामारीका बिरुद्द नागरिक सचेतना कार्यक्रम समेत गरिरहेको छ । “तपाईको मास्क खै ?” कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शाहि सहित सुरक्षा निकायका सबै प्रमुखहरू समेत नागरिकलाई सचेत गराउन र महामारी बिरुद्द खबरदारी गर्न सडकमा उत्रिएका थिए ।
महामारीकै समयमा जिल्लामा हुनसक्ने कालोबजारी रोकथामका लागि पनि जिल्ला प्रशासन कार्यालयले गोप्य निगरानी बढाएको शाहिले बताउनुभयो । यदि कसैले कालोबजारी गरेको पाईएमा तुरुन्त प्रशासनलाई जानकारी दिन पनि आम नागरिकलाई प्रमुख जिल्ला अधिकारी शाहिले अपिल गर्नुभएको छ ।
नियमित मास्क लगाउन, अत्यावस्यक काम नपरीकन घर बाहिर ननिस्कन, निरन्तर तातोपानी सेवन गर्न र सरसफाईमा उच्च सतर्कता अपनाउन शाहिले जिल्लाबासीलाई अनुरोध गर्नुभयो । “राज्य संयन्त्रको सकृयता र नागरिक सचेतनाबाट मात्र यो महामारीबाट बच्न सकिन्छ” प्रमुख जिल्ला अधिकारी शाहिले भन्नुभयो ।