७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

विराटनगरमा कोरोना संक्रमण तीव्र, महानगर आफै जुट्यो स्वाब संकलनमा



विराटनगर : दैनिक २ सय बढी संक्रमित महानगर क्षेत्रमै भेटिन थालेपछि विराटनगरले कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण सुरु गरेको छ ।
यस अघि पहिलो चरणको कोरोना संक्रमणमा स्वाव संकलन दैनिक गराएको महानगरले दास्रो चरणको महामारीको हालसम्मको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन गरेको थिएन ।

कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन महानगरले प्रत्येक वार्डलाई लक्षित गरेर स्वाब संकलन गर्ने र परीक्षण गर्ने कार्यको सोमबारबाटै सुरुवात गरेको महानगरका मेयर भीम पराजुलीले बताए ।

आइतबार नै सूचना प्रकाशित गरेर महानगरले १८ वटै वार्डहरुका नागरिकलाई सेवा दिने गरी विभिन्न ३ वटा केन्द्रबाट स्वाब संकलन गर्न सुरु गरेको मेयर पराजुलिको भनाइ छ ।

संक्रमण आशंका लागेकाले केन्द्रमा पुगेर स्वाब दिन महानगरले अनुरोध गरेको छ। सबै प्रक्रिया निशुल्क रहेको महानगरले जनाएको छ । ‘अहिले हामीले स्वाब संकलन नगरी पनि दैनिक दुई सय बढी संक्रमित महानगरमा हुन थालेका छन्,’ मेयर पराजुलिले भने, ‘अझै कन्ट्रयाक ट्रेसिङ हुनुभने कति धेरै संक्रमित होलान् ? त्यसैले हामी आफैले अब यो प्रक्रिया सुरु गरेका हौँ ।

पहिलो चरणमा कोभिडको लक्षण देखा परेका बिरामीहरुले स्वाब संकलन केन्द्रमा उपस्थित भएर परीक्षण गराउन सक्ने गरी महानगरले व्यवस्था मिलाएको छ । त्यसपछि महानगरले संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरुलाई पनि परीक्षण गर्ने महानगरले जनाएको छ ।

विराटगनरको १, २, ३, ४ र १९ वडाका स्थानीयका लागि तीनपैनीस्थित पानीटंकी (पुरानो दमकल रहेको भवन)मा, ५, ६, ७, ८, ९ र १० काले जिल्ला प्रशासन कार्यालय नजिक आदर्श स्कुलको विज्ञान भवनमा र ११, १२, १३, १४, १५, १६, १७ र १८ का १५ नंबर वर्डाको प्राथमिक स्वास्थ्य केन्द्र रानीमा पुगेर स्वाब संकलन गराउने गरी महानगरले केन्द्र तोकेको छ ।

विराटनगर पछिल्लो समय प्रदेश १ कै कोरोनाको ‘हटस्पट’का रुपमा रहेको छ । सोमबार मात्रै मोरङमा २ सय ८२ जना कोरोना संक्रमित भेटिदा विराटनगरमा २ सय २६ जना नयाँ संक्रमित भेटिएका थिए । जसमा ९७ महिला र १ सय २९ पुरुष छन् ।

सोमबार प्रदेश १ मा १ हजार ३ सय ३० जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७ जना संक्रमित भेटिएका थिए । परीक्षण गरिएका मध्ये २ सय ७७ महिला र ३ सय ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय ४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५७  पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ०२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.