नेकपा एमालेसम्बद्ध संगठन नेपाल खेलकुद महासंघले भोलि (७ चैत)मा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंको राष्ट्रिय सभागृहमा राष्ट्रिय भेला आयोजना गरिएको हो ।
राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी महासंघले यसबारे जानकारी गराएको हो । खेलकुद क्षेत्रको विकासका बारेमा छलफल, बहस गरी आगामी कार्यदिशासहित केही महत्वपूर्ण घोषणा गर्दै नयाँ नेतृत्वको घोषणा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भेलाका लागि देशका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरु काठमाडौं आइसकेको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ । पत्रकार सम्मेलनमा महासंघको अबको कार्यदिशा र नीतिको बारेमा समेत व्याख्या गरिएको थियो ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ राष्ट्रिय भेला आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।
‘यस भेलामा ७७ वटै जिल्ला तथा आबद्ध विभिन्न खेल संघहरुबाट करिब १ हजार जना प्रतिनिधिहरुको उपस्थितिमा खेलकुद र यस क्षेत्रको विकासका बारेमा छलफल, बहस गरी आगामी कार्यदिशासहित केही महत्वपूर्ण घोषणा गर्दै नेतृत्वको समेत पुनर्गठन गरी घोषणा गरिनेछ,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य गरेका संयोजक पौडेलले प्रधानमन्त्री ओली नै एमालेको मूल नेतृत्व भएको दाबी गरे । साथै, भोलिको कार्यक्रम पनि ओली आफैँले उद्घाटन गर्ने भएकाले आफूहरुको भेला आधिकारिक भएको दाबी उनले गरे । नेपाल समूहलाई इंगित गर्दै उनले उनीहरुले गठन गरिरहेको कमिटी समानान्तर भएको भन्दै आफ्ना कार्यक्रम आधिकारिक भएको बताए ।
कोरोना महामारीका बीच सुरक्षित भएर प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिने जानकारी उनले दिए । साथै, सो भेलाले महासंघको महाधिवेशन आयोजक कमिटी बनाउने बताए ।
‘देशैभरिका खेलप्रेमी युवा साथीहरु सहभागी हुनुहुनेछ । सबैतिरबाट साथीहरु आउने क्रम जारी छ ।’ उनले अघि भने, ‘जहाँसम्म खेलकुदका समस्या छ, करारमा धेरै खेल प्रशिक्षक छन्, यति धेरै खेल संघ छन् । जसले देशका लागि पाखुरीमा बल रहुन्जेल खेलिरहन्छन् । हामी ती सबैका लागि लड्नेछौँ ।’
बुढेसकालमा सबैका लागि बोल्ने र सहारा दिनका लागि खेलकुद महासंघ आवश्यक भएको उनले स्पष्ट गरे । पत्रकार सम्मेलनमा पौडेलले खेलाडीका समस्यामा महासंघ गम्भीर हुने बताए । यसअघि खेलकुद महासंघको नेतृत्वमा रहेका पुरुषोत्तम पौडेललाई अझै पनि आफूहरुले नेतृत्व सम्हाल्न भनिरहेको उनले बताए । नेपाल समूहमा पौडेल लागेको भन्दै उनलाई एमालेको मूलधारमा आउन पनि उनले आग्रह गरे ।